काठमाण्डौँ,११ बैशाख,
३३ किलो सुन काण्डमा अनुसन्धानको घेरामा परेका मकवानपुरका प्रहरी प्रमुख(एसपी) विकास राज खनाल थुनामा परेका छन् ।
प्रकरणको छानबिन गर्न गठित समितिले उनलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणस्थित आन्तरिक थुनामा राखेको हो ।
मंगलबार समितिले गृहमन्त्रालयमा एसपी खनालसहित इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत् प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जय राउतको बयान लिएको थियो । राउत बयानकै बीच गृहबाट निस्किएका थिए । लगत्तै, उनी समितिबाट सम्पर्कबिहीन भए ।
यसअघि आइतबार पूर्व डिआईजी गोविन्द निरौलालाई समितिले बयान लिएलगत्तै पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिएको थियो । सोही डरले राउत ‘फरार’ भएको हुन सक्ने स्रोत बताउँछ ।
निरौलालाई जिल्ला प्रहरी कार्यालय, मोरङमा लगेर कर्तव्य ज्यान र सुन तस्करी मुद्दा अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै २०७३ पुषमा भित्रिएको साढे ३३ किलो सुन तस्करीको घटनामा जोडिएका ३ जना हत्या भइसकेको छ । सोही मृत्यु प्रकरणमा प्रहरीका उपरोक्त वरिष्ठ अधिकारीहरु पनि मुछिएको भन्दै समितिले पत्र काटेको थियो । २०७३ पुष २१ पुषमा साढे ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको थियो । यस अवधिसम्म थुप्रै व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको तर यो रहस्य हालसम्म सुल्झन सकेको छैन ।
अनलाईन खबरबाट साभार
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।