दाइजोका लागि केटी पक्षलाई प्रताडना गरेको अभियोगमा पर्सा प्रहरीले केटाका बाबुलाई पक्राउ गरेको छ । पर्साको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका–२३ प्रसौनीविर्ता निवासी दयालल साह तेलीकी १८ वर्षीया छोरी रविता कुमारी साह तेलीले दाइजोको कारण वैशाख ६ गते विवाहपूर्व नै पासो लगार्ई आत्महत्या गरेपछि सामाजिक सुधार ऐन २०३३ अनुसारको कसुर भएकाले साहलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए ।
पक्राउ परेका साहलाई मंगलबार सार्वजनिक गर्दै उपरीक्षक रेग्मीले बेहुलापक्षले दाइजोका लागि दिएको दबाबकै कारण रविताले विवाह हुने आठ दिनअघिनै आत्महत्या गरेको अनुसन्धानबाट खुलेपछि आवश्यक कारबाहीका लागि केटाका पिता साहलाई नियन्त्रणमा लिइएको बताए ।
दाइजोकै कारण विवाहपूर्व नै रविताले आत्महत्या गर्नु परेको लिखित उजुरी उनका परिवार पक्षले दिन नमानेपछि आत्महत्या गरिने कारकलाई वर्तमान कानूनले कारबाही गर्ने प्रस्ट व्यवस्था नभएका कारण जिल्ला प्रहरी कार्यालय, पर्साको प्रतिवेदनका आधारमा बच्चु साहलाई सामाजिक सुधार ऐनअनुसार मुद्दा चलाउने तयारी गरिएको उपरीक्षक रेग्मीले सञ्चारकर्मीलाई जानकारी दिए।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका शिवदयाल साह भने फरार रहेको प्रहरीले जनाएको छ । फरार शिवदयालको खोजी भइरहेको प्रहरीले बताएको छ ।
दाइजो लिनु र दिनु दुवै दण्डनीय अपराध भएकाले यस्तो कार्य नगर्न नगराउन सबैलाई पर्सा प्रहरीले अनुरोध गरेको छ । दाइजो लिने वा दिने कार्यमा कोही संलग्न रहेका छन् भने त्यस्ता व्यक्तिबारे जानकारी दिन प्रहरीले सर्वसाधारणसँग अपिल पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।