सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा. डा. पुष्प कँडेललाई नियुक्त गरेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले डा. कँडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यसैगरी योजना आयोगको सदस्यहरुमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, डिलबहादुर गुरुङ, इन्जिनियर शुशिल भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा हडताल गर्न प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।

सार्वजनिक हितका लागि आवश्यक सेवामा हडताल गर्न निषेध हुनेगरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय लिइएको सरकारका प्रवक्ता बास्कोटाले बताए ।

त्यसैगरी मन्त्रीपरिषद बैठकले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्र अधिकारीको नेतृत्वमा उच्चस्तरीय सहजीकरण समिति बनाउने निर्णय पनि गरेको छ ।

सो विमानस्थल निर्माणको काम अघि बढन नसकिरहेका बेला सरकारले त्यसलाई सहज बनाउन उच्चस्तरीय सहजीकरण समिति बनाउने निर्णय गरेको हो । सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने प्रस्ताव पनि स्विकृत गरिएको छ ।

मन्त्रीपरिषद बैठकले तिलगंगा आँखा अस्पतालको लेन्स उत्पादनका लागि १० करोड अनुदान सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ । कैलालीमा संचालित रानी–जमरा–कूलरिया सिंचाई आयोजनाका लागि विश्व बैंकको ६ अरव ८६ करोड ऋृण सहायता लिने प्रस्ताव पनि स्विकृत गरिएको छ ।

सरकारी पदाधिकारी र उच्च पदस्थ कर्मचारीहरुको बैदेशिक भ्रमण व्यवस्थापनका लागि तयार पारेको निर्देशिका पनि मन्त्रीपरिषद बैठकले स्विकृत गरेको सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिएका छन् ।

सरकारले वेपत्ता व्यक्ति छानवीन गर्न बनेको अध्यादेश, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धि अध्यादेश, राष्ट्रिय चिकित्सा सम्बन्धि ऐन र राष्ट्रिय सभा निर्वाचनसम्बन्धि व्यवस्था गर्न बनेको अध्यादेश स्विकृतिका लागि राष्ट्रपति समक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।