चितवन,बैशाख १०,

प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा दुई बिद्यार्थीका अभिभावक बनेका छन् । उनले आज (सोमवार) चितवनका दुईजना चेपाङ विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई राप्ती नगरपालिका १० को सोमिटार माविमा भर्ना गरिदिएका हुन् ।
राप्ती नगरपालिका १० कावरकी ६ बर्षकी निशा प्रजा र सोही ठाँउका ५ बर्षका सुजन प्रजालाई कक्षा १ मा मन्त्री लामाले भर्ना गरिदिएका छन् । उनले ती विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यालय पोशाक, पाठ्यपुस्तक समेत उपलव्ध गराएका छन् ।
निशा र सुजन अति विपन्न चेपाङ परिवारका बालबालिका हुन् । उनिहरुका अभिभावकले दैनिक ज्यालादारी काम गरेर घरखर्च चलाउने गरेका छन्।

सरकारको भर्ना अभियान अन्तर्गत दुईजना विद्यार्थीलाई विद्यालयमा भर्ना गराउनुका साथै उनिहरुको अभिभाकत्व ग्रहण गरेको मन्त्री लामाले बताए । दुई चेपाङ विद्यार्थीहरूलाई स्कूलमा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने मन्त्री लामाले जानकारी दिए ।
लामाले प्रदेश ३ सरकारले पनि विद्यार्थी भर्ना अभियानलाई निकै महत्व दिएर काम गरिरहको बताए । शिक्षाबिना विकास र समृद्धि सम्भव नभएको भन्दै उनले शिक्षाको उज्यालोबाट सबै वालवालिका बञ्चित हुन नहुने धारणा व्यक्त गरे । मन्त्री लामाले चेपाङ लगाएतका अति विपन्न परिवारका वालवालिकालाई नियमित विद्यालय ल्याउन सबैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्ने बताए ।

शिक्षा मन्त्रालयले ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ नयाँ भर्ना अभियान सञ्चालन गरिरहेको छ । सोमिटार माविमा आधिकांस चेपाङ र तामाङ समुदायका बालबालिका अध्ययन गर्दै आइरहेका छन् ।