वैशाख १० – पाँचमध्ये चार खेलमा हार भन्नुको अर्थ मात्र एक खेलमा जित । जारी आईपीएलमा दिल्ली डेयरडेभिल्सको यो यथार्थकाबीच दिल्लीका समर्थक टिमको प्रदर्शनसँग खुशी छैनन् । होउन् पनि कसरी पाँच खेलबाट जम्मा २ अंक जोडेर टिम तालिकाको पुछारमा जो पुगेको छ ।

यस्तो बेलामा दिल्लीका समर्थकका लागि टिमको कमब्याक मुख्य चासोको विषय बनेको छ भने दिल्लीमा अनुबन्ध भएका सन्दीप लामिछानेका समर्थक भने सन्दीपले आईपीएलको डेब्यू क्याप लगाएको हेर्न आतुर छन् । छोटो अवधिमै उदयीमान खेलाडीका रुपमा धेरैको आँखामा परिसकेका सन्दीपलाई खेलाए उनले खराब प्रदर्शनका कारण निराश बनाइरहेको टिममा सञ्जिवनीको काम गर्लान कि भन्ने आशा पनि गरिरहेका छन् ।

आईपीएलमा सोमबार दिल्ली डेयरडेभिल्स र किंग्स इलाभेन पञ्जाब खेल्दैछन् । अंक तालिकाको दोश्रो स्थानमा रहेको पञ्जाब र तालिकाको पुछारमा रहेको दिल्लीबीचको खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजेपछि दिल्लीमा सुरु हुनेछ ।

खराब लयमा देखिएको दिल्ली आज खेलमा फर्किन चाहन्छ । त्यसका लागि घरेलु फिरोज शाह कोटला मैदान र हजारौँ दर्शक १२ औँ खेलाडीका रुपमा रहेछन् । तर, खेल जित्नका लागि १२ औँ खेलाडी भन्दा बढी मैदानभित्रका ११ जना खेलाडीले खेल्नुपर्छ ।

यसका लागि दिल्लीका प्रशिक्षक रिकी पोण्टिङसंग केही प्रयोग गर्ने जोखिम पनि हुनेछ ।

यस्तोमा सन्दीप लामिछाने पोण्टिङका लागि एक प्रयोग हुनसक्छन् । किन पनि भने फिरोज शाह कोट्ला मैदानको पिच स्पिनरमैत्री हो । घरेलु मैदानमा सन्दीप टिमका लागि गतिलो विकल्प हुने कुरा दिल्ली डेयर डेभिल्सले पनि स्वीकारेको छ ।

त्यस्तै, प्रशिक्षक पोण्टिङले पनि सन्दिपले क्षमता निखार्दै लगेको र जुनसुकै बेला पनि उनी टिममा पर्नसक्ने बताइसकेका छन् ।

आज टिममा परे सन्दीपले क्रिस गेल, युवराज सिंह, एरोन फिन्च, डेभिड मिलर, लोकेश राहुललगायतलाई बलिङ गर्न पाउनेछन् । सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगमा क्रिस गेलको टिक सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्समा पाँच हजार डलरमा अनुबन्धित भएका छन् ।

दिल्लीमा २० लाख भारतीय रुपैयाँमा अनुबन्ध भए पनि अहिलेसम्म मैदान उत्रन पाएका छैनन् ।

यो मैदानमा तीव्र गतिका बलरहरुले १० को औसतमा रन दिएका छन भने स्पिनरको औसत ६ दशमलब ३३ मात्र छ । भारतीय स्पिनर अनिल कुम्बलेले पाकिस्तानसँगको टेष्ट क्रिकेटमा पहिलो पालीका सबै १० विकेट लिएका थिए । यो मैदानमा भारत र न्यूजिल्याण्डबीच पछिल्लो ट्वेण्टी–ट्वेण्टी क्रिकेट भएकोमा ६ विकेट स्पिनरले लिएका थिए ।

एक खेलमा चारजना मात्र विदेशी खेलाडीलाई खेलाउन पाउने प्रावधानका कारण सन्दीपलाई खेलाउन दिल्लीलाई सकस भइरहेको छ । दिल्लीमा ८ विदेशी खेलाडी छन्। जसमध्ये बढीमा चारजनाले मात्र खेल्न पाउँछन् । दिल्लीका लागि फास्ट बलर ट्रेन्ट बोल्ट ब्याट्स्म्यान जेसेन रोय र ग्लेन म्याक्सवेल टिममा पर्ने निश्चित नै छ भन्दा पनि हुन्छ ।

टिममा क्रिस मोरिस डेन क्रिष्चियन पनि छन् । सन्दीपले डेब्यू गर्दा उनीहरु बेञ्चै बस्नुपर्नेछ । पहिलो खेलमा मह‌ंगो बलिङ गरेका अमित मिश्रा आज टिममा फर्किने सम्भावना पनि छ । दिल्लीको बलिङका मुख्य हतियार रहेका अमितले कोट्ला मैदानमा भएका ट्वेण्टी–ट्वेण्टी क्रिकेटमा ५० विकेट लिइसकेका छन् । आज अमितले मौका पाए सन्दिपको मौका कम हुनेछ ।

दिल्लीले आफ्नो आधिकारिक वेबसाइटमा भनेकै छ कि लगातार पाँच खेल घर बाहिर खेलेको दिल्ली घरेलु मैदानमा हुने छैटौँ खेलबाट राम्रो सुरुवात गर्न चाहन्छ । त्यसका लागि सन्दीप राम्रो हतियार बन्न सक्छन् । उसले सन्दीपको क्षमता उल्लेख गर्ने सन्दर्भमा यो पनि उल्लेख गरेको छ कि ‘जुहारत अर्थात हिराको काम गर्ने मानिसले मात्र हिरालाई चिन्न सक्छ ।’ के थाहा आजको खेलमा सन्दीपले दिल्लीका लागि हिराको काम गर्ने हुन् ?
उज्यालो अनलाईनबाट