संयुक्त कार्यक्रममा एमालेको मनोमानी भएको भन्दै राष्ट्रिय सभागृहमा आयोजित पार्टी स्थापना दिवसको कार्यक्रमका लागि राखिएको ब्यानर माओवादी पक्षले हटाउन खोजेपछि एमाले पक्षले त्यसमा अबरोध सिर्जना गरेको छ।
एमालेका दिबंगत नेताहरुको मात्र तस्वीर रहेको ब्यानर प्रयोग गरिएपछि माओवादी कार्यकर्ता र समर्थकहरुले हुटिङ सुरु गरेका थिए।
भृकुटी मण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रम दुबै पार्टीले संयुक्त रुपमा आयोजना गरेका हुन्। दुबै पार्टीबीच विवादित विषय टुंगिएको भए आजै पार्टी एकताको घोषणा गर्ने योजना समेत थियो ।
तर कार्यक्रमका लागि प्रयोग गरिएको ब्यानरको माथिल्लो पंक्तिमा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ लगायत एमालेका दिबंगत अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारीको तस्वीर राखिएको देखेपछि कार्यक्रमस्थल पुगेका माओवादी कार्यकर्ता र समर्थकहरु आक्रोसित बने।
त्यसपछि सो ब्यानर हटाउने माग गर्दै उनीहरुले हुटिङ सुरु गरे। उनीहरुको हुटिङपछि टांगिसकिएको ब्यानर हटाइयो। तर फेरि एमालेको आपत्तिपछि त्यसलाई टाँगिएको छ।
माथिल्लो पंक्तिमा एमालेका दिबंगत नेताहरुको तस्वीर रहेको ब्यानरको तल्लो पंक्तिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर राखिएको छ। दुबै अध्यक्ष आजको कार्यक्रमको संयुक्त बक्ताका रुपमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।