हेटौँडा,९ बैशाख,
मकवानपुरका चार विद्यार्थी संगठनले नीजि तथा सामुदायिक विद्यालयले विद्यार्थी भर्नाको समयमा मनोमानी ढंगबाट शुल्क लिँदै भर्ना गरेको भन्दै भौतिक कारबाहीको चेतावनी दिएका छन् ।

आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै एमाले निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी तथा राप्रपा निकट राप्रविसंघले मनलाग्दी ढंगबाट भएको भर्ना शुल्क बृद्धिको निर्णय ४८ घण्टाभित्र फिर्ता गर्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियुका मकवानपुर जिल्ला संयोजक किसन घिसिङले निर्देशिका बमोजिमको मापदण्ड पुरा गर्दै शुल्क निर्धारण गर्नुपर्ने, विद्यालय हाताभित्र शिक्षा बाहेकका अन्य शैक्षिक सामग्रीको ब्यापार बन्द गर्नुपर्ने, सरोकारवालाहरुसँग सल्लाह गरि छात्राबृत्ति ब्यवस्थापन गर्नुपर्ने र शिक्षकहरुमार्थीको श्रमशोषणको कारणले शिक्षामा आएको हसलाई न्युनिकरण गर्दै उनीहरुलाई सरकारी सेवा सुविधा प्रदान गर्ने माग राख्दै आफुहरुले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको बताए ।

 

कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका मकवानपुर अध्यक्ष दिनेश सुवेदीले आफुहरुको मागलाई वेवास्ता गरे कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिए । पत्रकार सम्मेलनमा नेविसंघका मकवानपुर अध्यक्ष राजु खतिवडा, राप्रविसंघका मकवानपुर अध्यक्ष प्रकाश चौँलागाईले पनि मन्तब्य ब्यक्त गरेका थिए ।