९ वैशाख, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त कार्यक्रमको ब्यानरमा सामान्य प्राविधिक त्रुटी भएको भन्दै कार्यकर्तालाई आश्वस्त पार्न प्रयास गरेका छन् ।लेनिन जयन्ती र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा एमाले-माओवादीद्वारा संयुक्तरूपमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकताको तयारीमा व्यस्त हुँदा सामान्य प्राविधिक त्रुटी हुन पुगेको उल्लेख गरे ।

 

‘अलिकति खटपट हुनुलाई अविस्मरणीय परिघटनाका रूपमा लिनुपर्छ र यसबाट हामीले शिक्षा लिनुपर्छ,’ प्रचण्डले भने, ‘हामी पार्टी एकताका विषयमा यति व्यस्त भयौं कि यो कार्यक्रमको व्यवस्थापनको पक्षमा ध्यान दिनै सकेनौं, त्यसैले केही प्राविधिक त्रुटी देखिन पुग्यो ।’

कार्यक्रममा राखिएको ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखिएको भन्दै माओवादी कार्यकर्ताले विरोध जनाएपछि कार्यक्रम शुरु हुन ढिलाइ भएको थियो ।

दुवै पार्टीका फरक-फरक ब्यानर राखेर कार्यक्रम सुचारु भएको छ ।लेनिन र मार्क्सको फोटोलाई कुर्चीमा पनि राखिएको छ ।