अर्जेन्टिनी लिजेन्डर डिएगो म्याराडोना विवादमा आइरहने फुटबलर हुन् । चाहे त्यो सक्रिय फुटबल खेलिरहँदा वा सन्न्यासपछिको जीवनमै नै किन नहोस्, उनी दुवै कालखण्डमा उत्तिकै चर्चित र विवादास्पद खेलाडीका रूपमा चिनिन्छन् । सन् १९८६ मा म्याराडोनाको एकल प्रदर्शनमै अर्जेन्टिनाले विश्वकप फुटबल उपाधि जितेको थियो । त्यो विश्वकपमा पनि म्याराडोना उत्तिकै विवाद र चर्चामा रहे । उनको जीवनमा यस्ता धेरै विवादित काण्ड छन् । जसमध्ये एजेन्सीको सहयोगमा ५ घटनाको विश्लेषण गरिएको छ ।

१  ह्यान्ड अफ गड


सन् १९८६ मा मेक्सिको विश्वकपको क्वार्टरफाइनलमा म्याराडोनाले इंग्ल्यान्डविरुद्ध गरेका २ मध्ये १ गोल विवादास्पद छ । उक्त गोल उनले हातले गरेका थिए । डिबक्सभित्र अकासिँदै आएको बलसँग ‘हेडिङ कन्ट्याक्ट’ गर्न म्याराडोना जुरुक्क उफ्रिए । हेडिङ गर्न सम्भव नभएपछि उनले चलाखी गर्दै बायाँ हातले बल छोए । म्याराडोनाले हातले कन्ट्याक गरेको बल पोस्टभित्र छिर्‍यो । म्याराडोनाले आफ्नो ‘अटो बायोग्राफी’मा त्यो हातेगोललाई उनले ह्यान्ड अफ गड अर्थात् भगवान्को हात भनी उल्लेख गरेका छन् ।

२  पत्रकारलाई धम्की
सन् २०१४ मा अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा एउटा घटना घट्यो । रातिको समयमा म्याराडोना र उनकी प्रेमिका रोसियो ओलिभा मस्त हुँदै गाडीमा हुइँकिरहेका थिए । सँगसँगै उनीहरूलाई स्थानीय फोटो पत्रकारले पछ्याएका थिए । फोटो पत्रकारलाई ‘पर्सनल लाइफ’मा हस्तक्षेप नगर्न उनले आग्रह गरे । दुई पक्षबीच झडपको स्थिति नै आयो । आवेगमा आउँदै म्याराडोनाले फोटो पत्रकारको क्यामरा नै चकनाचुर पारे ।

३  डोपिङ टेस्ट
म्याराडोना सन् १९९४ को विश्वकप फुटबल प्रतियोगितालाई कहिले पनि भुल्न सक्दैनन् । समूह चरणमा ग्रिसविरुद्ध म्याराडोनाले डिबक्सबाहिरबाटै उत्कृष्ट फ्रिकिक गोल गरेका थिए । खेलपछि म्याराडोनाको डोपिङ टेस्ट भयो । उनले प्रतिबन्धित औषधि सेवन गरेको प्रमाणित भयो । फिफाले म्याराडोनालाई १५ महिना फुटबल खेल्न प्रतिबन्ध लगायो ।

४ कोकिनको लत
सन् १९८० देखि ९० सम्म म्याराडोना तत्कालीन विश्वकै महँगा फुटबलर थिए । सोही समयमै म्याराडोनाले जीवनकै उत्कृष्ट फुटबल खेले । बार्सिलोनामा रहँदा उनले कोकिन लिन सुरु गरे । कोकिन लत यति बस्यो कि, त्यसलाई उनले जीवनकै अभिन्न अंग बनाए ।

५  खेलाडीलाई गाली
सन् २००६ मा म्याराडोनाको प्रशिक्षणमै अर्जेन्टिनाले विश्वकप खेल्यो तर टिम क्वार्टरफाइनलभन्दा माथि पुगेन । सन् २०११ मा दुबईको अल वास्लममा उनी प्रशिक्षक बने । शंकालु तथा रिसाहा बानीले गर्दा उनी र खेलाडीबीचको सम्बन्ध कहिले पनि राम्रो भएन । पराजित हुँदा उनले खेलाडीलाई मैदानभित्रै अपशब्द प्रयोग गर्थे । यसैकारण एक वर्षपछि नै उनी बखास्त भए ।
-एजेन्सी