बैशाख ७,शुक्रबारबाट राष्ट्रिय जनता पार्टी औपचारिक रुपमा फुटेको छ। असन्तुष्ट समूहले अशोककुमार यादवको नेतृत्वमा नयाँ पार्टी गठन गरेका छन्।शुक्रबार रिपोर्टर्स कल्वमा पत्रकार सम्मेलन गरी उपाध्यक्ष यादवसहित राजपाका ३३ केन्द्रीय सदस्य राष्ट्रिय जनता पार्टी लोकतान्त्रिकको घोषणा गरेका हुन्।
उनीहरुले यादवको संयोजकत्वमा ११ सदस्यीय महाधिवेशन आयोजक समिति समेत गठन गरेका छन्। समितिको सह–संयोजकमा रीतेशकुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दीपेन्द्र यादव, र सदस्यहमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन्।
कार्यक्रममा बोल्दै संयोजक यादवले राजपामा ६ अध्यक्षहरुको मात्रै मनोमानी चलेको र मधेसी जनताको माग भूलेर आन्दोलनलाई सत्तामा पुग्ने भ¥याङ बनाएको आरोप लगाए।
‘मधेश आन्दोलनमा निर्दोष मधेशी जनताले ज्यान गुमाए, तर यसको फाइदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका अध्यक्ष मण्डलका ६ जना र उनीहरुका परिवारलेमात्रै सुविधा लिए’, उनले भने, ‘संविधान संशोधनको विषयमा उनीहरुले कुनै भूमिका खेलेनन्, आन्दोलनलाई सत्तामा जाने बाटो मात्रै बनाएका कारण पार्टी फुटाएका हौँ।’
सहसंयोजक यादवले अध्यक्षमण्डलबाट राष्ट्रितामा खतरा देखेपछि आफूहरुले पार्टी फुटाएको स्पष्ट पारेका छन्। उनले भने, ‘नेतृत्वबाट राष्ट्रियतामाथि खतरा देखेकाले हामीले बाध्य भएर पार्टी फुटाएका हौं।’ उनले आफूहरुले घोषणा गरेको नयाँ पार्टीको मुख्य एजेण्डा राष्ट्रियतासहितको लोकतन्त्र र समाजवाद भएको स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।