हेटौँडा,२ बैशाख,मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेमा आज भएको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय ६४ जना महिलाले सेवा लिएका छन् ।

 

पान्तलेमा अवस्थित महिला सेवा बचत तथा ऋण सकारी संस्थाको आयोजनामा स्वास्थ्य शिविर भएको हो ।स्वास्थ्य शिविरमा सेवा लिएका १६४ मध्ये १९ जनालाई विशेष औँषधी तथा ५२ जनालाई सामान्य औँषधि वितरण गरिएको छ । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरु सहितको टोलीले क्यान्सरबाट पिडीत एक महिलालाई घरमै पुगेर सेवा दिएको छ ।

 

हेटौँडा १२ मगर टोल निवासी शर्मिला मगरलाई घरमै पुगेर एम्बुलेन्समार्फत हेटौँडा अस्पतालमा उपचारको लागि पुराइएको संस्थाका व्यवस्थापक शुशिला वाईबाले जानकारी दिईन् । उनको अहिले उपचार भइरहेको र थप उपचारको लागि भरतपुर समेत लान सकिने वाईबाले बताईन् ।संस्थाको १७ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको शिविरलाई नेपाल परिवार नियोजन संघले प्राविधिक सहयोग गरेको थियो ।

 

शिविरको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि एवं हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले गरेकी थिईन् । कार्यक्रम संस्थाका अध्यक्ष यशोदा पराजुली खनालको अध्यक्षतामा भएको हो । कार्यक्रममा वडा नम्बर १२ का अध्यक्ष ललित घलान, महिला वडा सदस्य, बुद्धिजीवीहरुले मन्तव्य राखेका थिए ।

 

पछिल्लो समयमा महिलाहरुमा बढ्दै गएको पाठेघर तथा स्तन क्यान्सरको समस्यालाई मध्यनजर गर्दै संस्थाले शिविरको आयोजना गरिएको हो । शिविरमा पदमपोखरीका विभिन्न स्थानहरु हात्तीगौँडा, बेलडाँडा, घरेडी डाँडा, भोर्ले, आँपधाप, ठूलोथली, टुटेपानीका साथै नजिकका गाउँपालिकाका वडाहरुबाट समेत महिलाहरुहले सहभागिता जनाएका थिए ।