९ चैत । ऊर्जामन्त्री वर्षमान पुनले सरकार कुनै पनि बहानामा विकासबाट पन्छिन नपाउने बताएका छन् । आर्थिक पत्रकार समूह सेजनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ऊर्जामन्त्री पुनले भने, “अब सरकार कुनै बहानामा विकासबाट पन्छिन पाउँदैन ।”मन्त्री पुनले ऊर्जा क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्ने बताए ।

 

राजनीतिक दलले घोषणा गरेको समृद्धिको दिशातर्फ जानु सरकारको दायित्व र बाध्यता दुबै भएको उनको भनाई थियो । स्वदेशी र विदेशी निजी क्षेत्रसँग जलविद्युत उत्पादनमा सहकार्य गर्दै सरकार अघि बढ्ने पनि उर्जामन्त्री पुनले उल्लेख गरे ।

 

मन्त्री पुनले निर्माणाधीन जलविद्युत आयोजनामा परेको अप्ठ्यारो बारेमा सरकारले अध्ययन गरिरहेको जानकारी दिए ।

 

कार्यक्रमका सहभागीहरुले नीति र योजनाहरु राम्रा रहे पनि कार्यान्वयनको पक्षमा सरकार कमजोर देखिएको टिप्पणी गरेका थिए । परिणाममुखी भएर अघि नबढ्ने हो भने जलविद्युत क्षेत्रको विकास सम्भव नहुने उनीहरुको सुझाव थियो ।