राक्सिराङ,मकवानपुर÷मकवानपुरको राक्सिराङ गाउँपालिकाका शिक्षक र विद्यार्थीले मोबाईल चलाउन नपाउने भएको छ । गाउँपालिका बैठकले कक्षा कोठामा शिक्षक र विद्यार्थीले मोबाईल राखेको पाइएमा कारबाही गर्ने निर्णय भएको तीन नम्बर वडा अध्यक्ष बाबुलाल स्याङ्तानले बताए ।

‘विद्यार्थी र शिक्षक अध्ययन÷अध्यापन छाडेर मोईलमा केन्द्रित हुँदा शैक्षिक गुणस्तर कमजोर भयो’, उनले भने, ‘त्यसैले मोबाईल चलाउन नदिने निर्णय गरेका हौं ।’ अब कुनै पनि शिक्षकले कक्षा कोठामा मोबाईल बोकेको पाईएमा कारबाही गरिने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । ‘यसबारेमा सबै विद्यालयमा प्रधानध्यापकहरुमार्फत शिक्षक र विद्यार्थीलाई जानकारी गराउँछौं’, उनले भने ।

साथै बैठकले राक्सिराङ गाउँपालिका क्रसर उद्योगहरु स्थापनाको लागि अनुमति नदिने र उत्खनन् रोक्ने निर्णय गरेको छ । ‘तत्कालको लागि नदीजन्य पदार्थ उत्खनन् रोक लागाइएको मल्लले बताए । साथै नयाँ क्रसर उद्योगहरु स्थापनाको लागि पनि अनुमति नदिने निर्णय भएको उनले जानकारी दिए । बैठकमा उपाध्यक्ष निर्मला हिमडुङ,गाउँपालिका सदस्यहरु तथा वडा वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।