तस्बीर गुगल

चैत ९ । अमेरिकाले चिनियाँ सामानमाथि ६० बिलियन अमेरिकी डलरको शुल्क लगाउने तथा अमेरिकामा चिनियाँ लगानी सीमित गर्ने निर्णय लिएको छ ।

चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको आरोप लगाउँदै ट्रम्प प्रशासनले यो निर्णय लिएको हो । चिनियाँ अर्थव्यवस्थाबाट भइरहेको अन्यायपूर्ण चुनौतीको सामना गर्न यस्तो कदमको विकल्प नभएको ह्वाइट हाउसको जिकिर छ ।

चीनले पनि अमेरिकी कदमको उचित जवाफ दिने जनाएको छ । अमेरिकाको यस कदमलगत्तै अब विश्वमा व्यापार युद्ध हुनसक्ने आशंका गर्न थालिएको छ । यसअघि ट्रम्प प्रशासनले स्टील र आल्मुनियम लगायतकाविदेशी सामानमा आयात शुल्क बढाएको थियो ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरु देशले पनि अमेरिकी कम्पनीका लागि बराबरीको नियम राखून् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरेका छन् ।

चीनसँग सम्झौताका लागि लामो वार्तालाप मै रहेको भन्दै ट्रम्पले कस्तो परिणाम आउँछ हेर्न बाँकी रहेको बताए ।


अमेरिकाले एक हजारभन्दा बढी चिनियाँ उत्पादनमाथि शुल्क लगाइने जनाइएको छ । अमेरिकामा साना उद्योग खोलेर चीनले प्रविधि चोरेको आरोप अमेरिकाको छ ।

रणनीतिक रुपमा केही उद्योग अमेरिकामा स्थापना गरेर साइबर आक्रमण गरिरहेको आरोप पनि चीनमाथि लगाइएको छ । (एजेन्सी)