फाइल तस्वीर

९ चैत्र,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना राजनीतिक मागका लागि अब कसैले पनि हिंसाको बाटोमा हिँड्नुपर्ने अवस्था नरहेको बताएका छन्।संघीय समाजवादी फोरमका केन्द्रीय सचिव अजम्बर काङवाङ राई र नयाँ शक्तिका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले संविधान संशोधनको बाटो खुल्ला भएकाले हिंसामा जानुपर्ने अवस्था नरहेको बताएका हुन्।

 

‘अब हिंसाको बाटो र सडकमा जानैपर्ने बाध्यता छैन, संविधानले नै संशोधनको प्रकृयामा जान मिल्ने अवस्थाको ग्यारेण्टी गरेको छ, हामीले दुईचोटी संशोधन गरिसकेका छौं र अझै संशोधन गर्न सकिन्छ’, उनले भने।

 

प्रचण्डले पार्टी एकता घोषणा गरेपछि एमालेमा ४६ र माओवादी केन्द्रमा ४१ समुह मिसिएको बताए। साना ठूला भंगाला मिसिएर दुई ठूला नदीको रुप लिँदै पार्टी एकता मार्फत महासागर बन्ने दावी गरेका उनले यतिबेला कम्युनिस्ट धु्रविकरणको लहर चलेको बताए।

उनले पञ्चायत ढलिसकेपछि कम्युनिस्ट आन्दोलनभित्र माओवादीले सशस्त्र संघर्षको धाराको प्रतिनिधित्व गरेको र एमालेले संसदीय संघर्षको धाराको प्रतिनिधित्व गरेको बताए। अहिले यी दुवै धारा एक ठाउँमा आउने परिस्थिति निर्माण भएको प्रचण्डको तर्क थियो। उनले निश्चित सोच्ने तरिका र छलफलको परिणाम स्वरुप पार्टी एकता भएको भन्दै दुई वाम पार्टीको एकता विचारविहीन नभएको दावी गरे।

यस्तै, माओवादी केन्द्रमा प्रवेश गरेका संघीय फोरमका सचिव अजम्बर काम्मांग राईले सरकारमा जानपनि तयार रहने र आन्दोलनमा पनि जान्छु भन्नु आफू संलग्न पार्टीको अवसरवाद भएको टिप्पणी गरे। उनले माओवादी र एमालेको एकताले एउटै कम्युनिस्ट पार्टी निर्माण हुने यसैले देशको सम्पूर्ण समस्या हल गर्ने युगीन दायित्व निर्वाह गर्ने दावी गरे।