६ चैत, हेटौँडा । लामो समयदेखि स्थगित रहेको प्रदेशसभा बैठक चैत १२ गते बस्ने भएको छ । चैत १२ गते प्रदेशसभा बैठक बोलाउने तयारी भईरहेको ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताए ।

प्रदेशसभा बैठक विजेनशविहिन हुँदा सांसदहरु पनि आफ्नो क्षेत्रमा रहेका छन् भने कानून निर्माणको काम अन्यौलमा परेको छ । प्रदेश सरकारले केही विद्येयक प्रदेशसभा सचिवालयमा दर्ता गराएको र केन्द्रका निर्वाचन पनि सकिएकाले चैत १२ गते बैठक बोलाउने तयारी भएको उनले बताए । कानून मन्त्रालयले केही लिखत प्रमाणिकरण सम्बन्धी व्यवस्था गर्न बनेको विद्येयक २०७४, प्रदेश सरकारको आर्थिक कार्यविधि २०७४, प्रदेशका स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धी विद्येयक बारे आगामी प्रदेशसभा बैठकमा छलफल हुने जनाईएको छ ।

चैत ७ गते बैठक बोलाउने तयारी भएपनि चैत ८ गते प्रधानमन्त्रीले मूख्यमन्त्रीहरुलाई भेट्ने कार्यक्रम रहेको र रामनवमी पनि परेकाले प्रदेशसभा बैठक १२ गतेका लागि बोलाउने तयारी भएको श्रेष्ठको भनाई रहेको समाचार समृद्ध समाज दैनिकमा छ ।