कांग्रेसको इतिहास: देउवा जित्दा पार्टी हार्छ

काठमाडौँ: सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा जन्मिएका शेरबहादुर देउवा ७० काटेपछि मात्रै नेपाली कांग्रेसको सभापति भए । तर उनै देउवालाई नेपालको सबैभन्दा ठूलो कार्यकारी पद प्रधानमन्त्रीमा पुग्न भने भने ५० वर्ष पनि कुर्नुपरेन ।

बहुदल आगमनपछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनबाट बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री जस्तो शक्तिशाली पद पाएपछि देउवाको सत्ता यात्रा त्यहीँबाट सुरु भयो ।

बिहे गरेपछि शक्तितिर

गृहमन्त्री हुँदा देउवाले विवाह समेत गरेका थिएनन् । उनले ४५ वर्षको उमेरमा राणा खानदानकी आरजु राणासँग विवाह गरे । त्यसपछि उनको निकटता दरबारसँग समेत भयो । गृहमन्त्रीको शक्तिले उनलाई दरबारसँग निकट हुन झनै सहयोग गर्‍यो ।

देउवानिकट पुराना एक नेता भन्छन्,‘बिहे गरेपछि देउवा व्यक्तिवादी र स्वार्थी भए । उनले आफूलाई डा. हरुले मलाई बिगारेको बताउँथे।’ डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल, डा. नारायण खड्का र डा. आरजु देउवाप्रति संकेत गर्दै देउवाले गुनासो गर्ने गरेको ती नेता बताउँछन्।

डा. रिजाल बाहेक अहिले पनि सबै डाक्टर देउवासँगै छन् । कांग्रेसनिकट वरिष्ठ पत्रकार वेदप्रकाश त्रिपाठीले एउटा आलेखमा पत्नीका कारण देउवा बदनाम भएको टिप्पणी गरेका छन् ।

उनले लेखका छन्, ‘चुनाव हारेपछि दर्जनौँ राम्रा निर्णय गरेर पनि लोकप्रिय बन्नुको साटो आलोचनाको केन्द्र बन्ने नेताका रूपमा देउवालाई बिर्सन सकिँदैन । नेपालको इतिहासमा पत्नीलाई अघि लगाएर राज्यको साधन र स्रोतमा सर्वाधिक लामो हात गर्ने व्यक्ति शेरबहादुर देउवा भएका छन् । राजा वीरेन्द्रको शासनकाल (पञ्चायत) मा उनकी पत्नी ऐश्वर्य, बाबुरामको कार्यकालमा हिसिला र गिरिजाप्रसाद कोइरालाको समयमा सुपुत्री सुजाता आफ्नो क्रियाकलापका कारण जनस्तरमा बद्नाम थिए, त्यसभन्दा धेरै बद्नामी देउवा पत्नीले गरेकी छिन । राज्यका स्रोत साधनहरूको उच्चतम् दोहोन गर्न पत्नीलाई छोड्ने व्यक्तिका रूपमा पनि देउवालाई भविष्यसम्म स्मरण गरिरहनुपर्ने स्थिति छ ।’

कोइराला ढलेपछि देउवाको उदय

वि.सं. २०५१ सालमा कांग्रेसकै दुई सांसदले असहयोग गरेपछि कोइराला नेतृत्वको सरकार ढल्यो। कोइरालाले त्यसपछि मध्यावधि निर्वाचन घोषणा गरे । देउवासमेत गृहमन्त्री रहेका बेला भएको मध्यावधि निर्वाचनमा कांग्रेसलाई एमालेले उछिन्यो ।

२०४८ सालमा ११० सिट जितेको कांग्रेस २०५१ सालको मध्यावधि निर्वाचन ८३ सिटमा खुम्चियो । ८८ सिट जितेर एमाले पहिलो पार्टी बन्यो । त्यहीबेला कांग्रेसले पहिलो झट् बेर्होनु पर्‍यो, त्यो पनि देउवा गृहमन्त्री भएका बेला । त्यो बेलासम्म कांग्रेसमा गिरिजाप्रसाद सर्वशक्तिमान थिए । तर कांग्रेस हारेको चुनावपछी कोइराला विकल्पमा आफूलाई उभ्याउँदै देउवा संसदीय दलको नेता बन्न सफल भए ।

एमाले सरकारमा

२०५१ सालको निर्वाचनमा ठूलो पार्टी बनेको एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भए । तर त्यो सरकारलाई ९ महिना भन्दा बढी टिक्न दिइएन । ९ महिना टिकेको त्यो सरकार सामाजिक सुरक्षा कार्यक्रम थालेर एमालेलाई स्थापित गराउन सफल भए । अधिकारी सरकार ढालेपछि कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्री भए ।

पञ्चको साथ

पञ्चायत सर्मथक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत समावेस गरेर उनले ५२ जनाको जम्बो मन्त्रिपरिषद् बनाए । त्यसपछि देउवा निरन्तर शक्तिशाली बन्दै गए । पञ्चहरुलाई सरकारमा सहभागी बनाएको भन्दै कांग्रेसको आलोचना सुरु भयो ।

देउवाको प्रधानमन्त्रीत्व कालमा पञ्चलाई सरकारमा ल्याउनेदेखि सुरासुन्दरी, रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता संसदीय विकृति जन्मिए । यी सबै विकृतिको शिकार बन्यो नेपाली कांग्रेस । काण्डैकाण्डले कांग्रेस विरामी भइरहँदा देउवा भने निरन्तर उकालो चढ्दै गए ।

देउवा उक्लिँदा कांग्रेस झन् ओरालो

२०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेस कहालीलाग्दो अवस्थामा पुग्यो । ७० प्रतिशत स्थानीय निर्वाचनमा एमालेले जित्यो । कांग्रेस २५ प्रतिशतमा सीमित हुन पुग्यो ।

२०५१ को मध्यावधि र २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नराम्रो पराजय भोगेपछि तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने घोषणा गरे । त्यहीबेला एमाले विभाजित भएको थियो ।

एमालेको विभाजन र भट्टराईलाई प्रधानमन्त्री बनाउने घोषणापछि कांग्रेसले सुविधाजनक बहुमत ल्यायो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए तर कोइरालाले त्यो सरकारलाई लामो समय टिक्न दिएनन् । भट्टराईलाई पाखा लगाएपछि फेरि गिरिजा प्रधानमन्त्री बने ।

होलेरीकाण्ड देउवालाई नाफा

२०५८ सालमा रोल्पाको होलेरीमा भएको माओवादी आक्रमणमा तत्काली राजा ज्ञानेन्द्रले सेना परिचालन गर्न नमानेपछि कोइरालाले राजीनामा दिए । तर पुनः २०५८ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्री बनाए ।

दोस्रो पटक प्रधानमन्त्री भएका देउवाले आफुलाई शक्तिशाली बनाउँदा पार्टी नै फुटाए । प्रधानमन्त्री बनेपछि २०५९ सालमा देउवाले कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाए अनि आफैँ बने नयाँ पार्टीको सभापति ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा असक्षमूको आरोप लगाई देउवा सरकारलाई विघटन गरे । तर उनै राजा ज्ञानेन्द्रले असक्षम घोषणित देउवालाई दुई वर्षपछि २०६१ सालमा पुनःप्रधानमन्त्री नियुक्त गरे । यो सँगै उनी तेस्रो पटक प्रधानमन्त्री बने । यसबेलासम्म कांग्रेसको हालत भने धेरै कमजोर भइसकेको थियो । राजाले शासन हातमा लिएपछि कांग्रेस करिब थला परेको थियव ।

अनि मिले देउवा

२०६२/०६३ को आन्दोलनपछि पार्टीको कम्जोर अवस्थाका कारण देउवाले प्रजातिन्त्रक पार्टीलाई कांग्रेससँग एकीकरण गराए । एकीकरणपछि तत्कालिन सभापति कोइरालासँग ६०-४० को हैसियत बनाउन उनी सफल भए । पार्टी भित्र भने उनी गिरिजाको प्रमुख प्रतिपक्षको भुमिका रहिरहे ।

गिरिजाप्रसाद कोइरालाको मृत्यु भएपछि उनको शक्ति झनै बढ्दै गयो । तर सुशील कोइराला उनको बाटोमा तगारो बने । गिरिजाका उत्तराधिकारीको भुमिका रहेका सुशीलसँग उनले हार भोग्नुपर्‍यो । कांग्रेसमा कोइराला परिवारको प्रभुत्व रहेका कारण देउवा २०६६ सालको कांग्रेसको १२ औँ महाधिवेशनमा पराजित भए ।

सुशीलपछि एकछत्र राज

तथापि उनको बर्चश्व भने पार्टीमा बढ्दै गयो । पार्टीमा बलियो प्रतिपक्षका रुपमा देउवा देखिए । सुशील कोइरालाले पार्टीमा प्रभाव छाड्न नसकेपछि कोइराला परिवार परिवारसँग रिसाएकाहरुलाई उनले आफुतिर ताने । त्यसैबेला तत्कालीन सभापति सुशीलको निधन भयो, अनि कांग्रेसमा देउवाका दिन खुले ।

२०७२ सालमा पार्टीको १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा पार्टी सभापतिमा निर्वाचित भए । २००३ सालमा असिग्राम-५ रुवाखोला जन्मिएका देउवा सबै भन्दा ठूलो पार्टी कांग्रेसको सभापति जस्तो सर्वोच्च भुमिका पुगे । सभापति हुनु पुर्व नै देउवाले पौडेललाई कांग्रेस संसदीय दलको नेतामा पराजित गरिसकेका थिए ।

अनि बनाए जम्बो सरकार

२०७४ साल जेठमा देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भए । फेरि उनले ६४ सदस्यीय जम्बो मन्त्रिपरिषद बनाए । जुन नेपालको इतिहासकै सबैभन्दा ठूलो मन्त्रिपरिषद हो, त्यसले उनको धेरै आलोचना भयो ।

२०७४ सालमा भएका स्थानीय, प्रदेश र प्रतिनिधि सभाका तीनै निर्वाचन देउवा आफैँले गराए । संविधान कार्यान्वयनका लागि तीनै निर्वाचित गराएर उनी सफल पनि भए ।

तर निर्वाचनमा लज्जास्पद रुपमा कांग्रेस हार्‍यो । ७ प्रदेशमध्ये कुनैमा पनि कांग्रेसले प्रादेशिक सरकार बनाउन सकेन । १७५ सिटको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जित्यो । तर देउवाले भने अत्यधिक मतसहित डडेल्धुराबाट छैटौँ पटक चुनाव जिते । उनले २०४८,२०५१,२०५६,२०६४,२०७० र २०७४ सालका सबै चुनावमा विजयको झण्डा गाडे ।

सर्वशक्तिमान देउवा

अहिले उनै देउवा पार्टीको सर्वशक्तिमान सभापति पदमा छन् । देउवा सत्ता र शक्तिको लागि जे सुकै गर्न तयार हुने नेता भएका उनकै निकटतस्थ बनाउँछन‍् । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको आवाज उठेका बेला कोइराला परिवारको समेत भोट लिएर देउवा फेरि संसदीय दलको नेता बनेका छन् ।

उनले संसदीय दलको निर्वाचनमा दोब्बर बढी मतले प्रतिस्पर्धी प्रकाशमान सिंह पराजित गरेका छन् । यो निर्वाचनले पार्टी भित्रको अर्को गुटलाई धेरै कमजोर बनाएको छ । म‌ंसिरको निर्वाचनमा उनलाई टक्कर दिँदै आएका रामचन्द्र पौडेल पनि पराजित भएपछि देउवाको शक्ति बढेको छ। कांग्रेसको कुल ६३ मतमा देउवा ४४ मत पाए भने सिंह मात्र १९ मत पाए ।

सत्ता र शक्ति प्राप्त गर्न जान्ने राजनीतिक खेलाडी हुन् देउवा । उनले जुनसुकै विधिबाट पनि सत्ता र शक्ति प्राप्त गर्न जानेका छन् । जिल्लास्तरका बलियो नेतालाई प्रलोभनमा पारेर आफ्नो पक्षमा ल्याउन माहिर नेता हुन् उनी ।

देउवा फुल्छन्, कांग्रेस खुम्चिन्छ

नेतृत्वको असक्षमताका कारण कांग्रेसले चुनाव हारेको आरोप लागिरहेका बेला नेतृत्व गर्ने देउवा संसदीय दलको नेतामा भारी मतले विजयी हुनुलाई अर्थपूर्ण रुपमा हेर्छन् कांग्रेसकै नेताहरु । २०४८ यताका तथ्यलाई केलाउँदा कांग्रेस खुम्चिँदा देउवा भने फुल्ने गरेका छन् ।

हरेक पटक कांग्रेस खुम्चँदा देउवा फुलेका छन् । उनी प्रधानमन्त्री र गृहमन्त्री भएर गराएका २०५१ सालको मध्यावधि र २०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेस हारेको छ ।

सांसदहरुमा विकृतिको वीजारोपण उनकै पालामा सुरु भएको आरोप अन्य दलले लगाइरहेका छन् । उनी प्रधानमन्त्री भएको बेला कांग्रेस पनि फुटाएका छन् । कांग्रेसका युवा नेता प्रदीप पौडेल पार्टी भित्र कमजोर प्रतिपक्ष भएका कारण देउवा शक्तिशाली भएको बताउँछन् । देउवा सत्ता र शक्तिको लागि जेसुकै गर्न सक्ने नेता भएको बताउँछन् युवा नेता पौडेल ।

‘पार्टी भित्रको प्रतिपक्ष कमजोर छ, त्यसकारण उहाँ मनपरी गर्न सक्ने हुनु भएको छ,’ उनी भन्छन्,‘तर जनतामाझ उहाँ बलियो हुनुहुन्न ।’ युवा नेता पौडेल संसदीय दलमा आफैँले बनाएका मतदाताले भोट हाल्ने भएका कारण देउवा शक्तिशाली देखिएको बताउँछन ।

‘उहाँले एकलौटी रुपमा समानुपतिक संसद बनाउनुभयो, प्रत्यक्षमा पनि आफैले टिकट बाँड्नुभयो’, पौडेल भन्छन्, ‘आफैँले बनाएका मतदाताले भोट हालेर संसदीय दलमा धेरै मत आएको देखिएको हो ।’

संसदीय दल पौडेलले पार्टीको नेतृत्व, संगठन र सिद्धान्तको रुपान्तरण गर्नुको विकल्प कांग्रेससँग नरहेको पौडेल जिकिर गर्छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा कांग्रेसको हारमा धेरै कारण रहेको बताउँछन् । उनी आन्तरिक बाह्य दुवै कारणले कांग्रेस हारेको बताउँछन् । शर्मा देउवाकै नेतृत्वमा तीनवटै निर्वाचन भएर संविधान कार्यान्वयन सफल भएको जश पनि दिन्छन् ।

अन्नपूर्णपोष्टबाट