चैत ४,प्रहरीकोे फरार सूचिमा नाम रहेका प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ अर्थात् दीपक मनाङेलाई खोजी गर्न इन्टरपोल प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ ।नेपाल प्रहरीको इन्टरपोल शाखाले केही दिनअघि मनाङेको नाममा नोटिस जारी गरेको प्रहरी प्रवक्ता मनोज नेउपानेले बताए ।

 

प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आएसँगै फरार छन् । उनले सांसदको शपथसमेत लिएका छैनन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो ।

 

मनाङेलाई अब इन्टरपोलमा १९२ देशका प्रहरीले खोजी गर्नेछन् । फरार रहेका मनाङे भारतमा लुकेर बसेको दाबी प्रहरीको छ । प्रहरी स्रोतका अनुसार इन्टरपोलले मुख्यालयले गएको साता रेडकर्नर नोटिसमा राखेको जानकारी नेपाललाई दिएको छ ।

 

प्रहरीले फेरि मनाङेको अदालत फैसला र विगतको पृष्ठभूमि पठाएपछि इन्टरपोल मुख्यालयले गत साता सदर गरेको प्रहरी स्रोतले जानकारी दियो ।