परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०१८ नेपालमा उच्चस्तरीय अन्तर्राष्ट्रिय भ्रमण हुने दावी गर्नुभएको छ । उहाँले छिमेकी दुई राष्ट्रसँगै अन्य मुलुकबाट समेत नेपालमा भ्रमण हुने बताउनुभयो ।

शनिवार साक्षात्कार कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सन् २०१८ मा भारतीय प्रधानमन्त्री एवं चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गर्नुहुने र नेपालबाट समेत उच्चस्तरीय दुईपक्षीय भ्रमण हुने बताउनुभयो । दुई पक्षीय उच्चस्तरीय भ्रमणको तयारीमा परराष्ट्रमन्त्रालयले गृहकार्य सुरु भइसकेको जनाउँदै नेपालले दुई देशबाट ठूलो लाभ लिन सक्ने समेत प्रष्ट पार्नुभयो ।

गत महिनामात्रै नेपाल भ्रमणमा आउनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिईएको थियो । उता चिनियाँ राष्ट्रपति सि जिनपिङ यस अघि नै नेपाल आउने चाहना राख्नुभएको परराष्ट्रमन्त्री ज्ञवालीले जिकिर गर्नुभयो । उहाँले भारत र चीन लगायत अमेरिका, बेलायत र जापानबाट पनि नेपालमा उच्चस्तरीय भ्रमण हुने विश्वास दिलाउनुभयो ।

मन्त्री ज्ञवालीले नेपाले महत्वपूर्ण मोडमा उभिएको उल्लेख गदै आगामी दिनमा मुलुकको राष्ट्रिय नीतिलाई बल पुग्नेगरि विदेश नीति अघि बढ्ने धारणा समेत व्यक्त गर्नुभयो । कार्यक्रममा ज्ञवालीले राष्ट्रियताको रक्षा एवम् प्रर्वद्धन, राष्ट्रिय एकता, सार्वभौमकिता, अखण्डतालाई एकताबद्ध गर्ने मुल नीति भएकाले मुलुकमा समृद्धि हाँसिल गर्ने उद्देश्य अनुकुल नै अन्र्तराष्ट्रिय वातावरण निर्माणमा परराष्ट्र नीतिको सार हुने बताउनुभयो ।(न्युज२४नेपालबाट)