
अदालतले कुनै पनि मुद्दाको फैसला दिँदा प्रमाणलाई मुख्य प्राथमिकता दिन्छ। तर रोमानियाको एक अदालतले प्रमाणका रुपमा जिउँदो मानिस आफैँ इजलासमा उपस्थित हुँदाहुँदै ती व्यक्तिको मृत्युलाई सदर गरेको छ।
रोमानियाको बार्लाड नामक सहरमा कोन्स्टान्टिन रिलु नामक व्यक्तिले आफ्नो मृत्युको प्रमाणपत्र रद्ध गर्न माग गर्दै उजुरी दिएका थिए। एक दशकभन्दा लामो समय बिना खोजखबर उनी विदेशमा रहेपछि उनकी पत्नीले उनको मृत्युको प्रमाणपत्र प्राप्त गरेकी थिइन्। तर रिलुले उजुरी गर्ने म्याद सकिइसकेको बताउँदै अदालतले आधिकारिक रुपमा उनी मृत नै रहनुपर्ने फैसला गरेको हो।
उनी सन् १९९२ मा जागिरको खोजीमा टर्की गएका थिए। अन्तिम पटक उनी १९९९ मा घर आएका थिए। तर त्यसपछि भने उनले परिवारसँगको सम्पर्क विच्छेद गरेका थिए।त्यसपछि उनकी पत्नीले उनको मृत्युको प्रमाणपत्र बनाएकी थिइन।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार १९९९ देखि पतिको बारेमा केही थाहा नपाएपछि उनकी पत्नीले टर्कीको भूकम्पमा परी उनको मृत्यु भएको अनुमान गरेकी थिइन्। तर रिलुका अनुसार उनीसँगको विवाह रद्ध गरेर अर्को विवाह गर्नका लागि उनकी पत्नीले त्यसो गरेकी थिइन्।
कागजातको म्याद सकिएर घर नफर्काइएको भए रिलुले आफ्नो मृत्युको जानकारी पनि पाउने थिएनन्। राहदानी नवीकरण गरेर फेरि टर्की फर्किने योजनाका साथ उनी रोमानिया पुगे तर आप्रवास कर्मचारीले उनलाई पक्राउ गरे। सन् २००३ मै उनको मृत्यु भइसकेको रिलुलाई बताइयो।
उनी टर्की फर्केर एउटा सानो कम्पनी खोल्न चाहन्छन् तर आफ्नो परिचय नै मरिसकेपछि उनी कानुनी लडाइँ गरिरहेका छन्।‘म जिउँदै छु, तर आधिकारिक रुपमा भने म मरिसकेँ,’ छक्क पर्दै रिलुले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘मेरो कमाइ छैन र मरिसकेको हुनाले केही गर्न पनि पाउँदिनँ।’
अदालतकी एक प्रवक्ताले भने मृत्युको प्रमाणपत्र रद्ध गर्ने म्याद गुज्रिसकेकाले रिलुले मुद्दा हारेको बताइन्। यो फैसला अन्तिम भएको र यसमा पुनरावेदन पनि गर्न नपाइने हुनाले रिलु निकै ठूलो अन्यौलमा छन्। एजेन्सी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।