हेटौँडा,२ चैत्र,
सरकारले २० वर्ष पुगेको टेम्पो चैत्र १ गतेबाट बिस्थापित गरेपछि हेटौँडामा सञ्चालनमा रहेको अटोले मनपरी भाडा असुल गर्न थालेको छ । हेटौँडाको मुख्य बजार क्षेत्रबाट चौघडा, बसामाडी, कमाने लगाएतको क्षेत्रबाट दैनिक रुपमा हेटौँडाको मुख्य बजार क्षेत्र आउनुपर्ने आम नागरिकहरुको लागि अटोले मनलाग्दी भाडा अशुल्न थालेको पीडित यात्रुहरुको भनाई रहेको छ ।

हेटौँडाको बुद्धचौकबाट चौघडा जम्मा ६ किलोमिटरको दुरीमा छ तर अटोले चौघडाबाट हेटौँडा आएको २ सय ५० रुपैँया लिएको स्थानीय विशाल अधिकारीले बताए । उनले आफ्नो फेसबुक वालमा समेत त्यस्ता ठगी गर्ने अटोलाई कारबाहीको माग गरेका छन् ।
अटो तथा इ रिक्साले यस अघि पनि मनलाग्दी भाडा लिने गरेको खबर प्रकाशन भएपनि यसको अनुगमन गर्ने जिम्मा पाएको प्रशासन कार्यालय भने मौन रहदै आएको थियो ।

विक्रम टेम्पुले १५ रुपैँया भाडा लिने रुटमा अटोले ३ सय लिन थाले उनीहरुको भनाई रहेको छ । हेटौँडाको राप्तीरोडबाट हेटौँडा ३ बसामाडीसम्म बिक्रम टेम्पुले १५ रुपैँया भाडा लिने गरेकोमा चैत्र १ बाट टेम्पु बन्द भएपछि जम्मा ६ किलोमिटरको उत्त रुटमा अहिले अटोले ३ सय लिन थालेको थानीय कृष्ण थापाको भनाई रहेको छ । प्रति किलोमिटर ५० रुपैँया भाडा परेपछि अहिले स्थानीयहरु निकै मारमा परेका छन् ।

सरकारले अन्य ब्यवस्था नगरि एक्कासी २० वर्ष पुरानो सबारीलाई निषेध गरेपछि त्यसको प्रतक्ष मारमा नागरिक परेका छन् । हेटौँडामा सञ्चालमा रहेको १ सय २५ वटा विक्रम टेम्पु २० वर्षे समयअवधिको कारण चैत्र १ बाट बन्द भएपछि अटोको मनलाग्दी थप बढेको हो ।

सरकारले जारी गरेको नियम आफुहरुले कार्यन्वयन गर्ने भन्दै ट्राफिक कार्यालय हेटौँडाले अनुगमन कडा बनाएपछि हिजोबाट बजार क्षेत्रमा टेम्पो पूर्ण रुपमा निषेध गरिएको छ ।

उता कमानेका स्थानीयहरु आफुहरुलाई ५ किलोमिटरको ३ सय भाडा लिएको बताएका छन् । हेटौँडा ८ का राजन कार्कीले अटोले मनपरि गर्दा समेत प्रशासनले कुनै कदम नचालेको बताउछन् ।