१ चैत्र,भारतको हरियाणा राज्यस्थित एक कलेजमा नेपाली विद्यार्थीले आत्महत्या गरेका छन्। महोत्तरी घर भएका २० वर्षीय साहबुल अन्सारीले मंगलबार बिहान होस्टेलको कोठामा पंखामा पासो लगाइ आत्महत्या गरेका हुन्।

 

अन्सारीको आत्महत्यापछि विद्यार्थीहरुले सडक बन्द गर्दै सो संस्थाविरुद्ध प्रदर्शन गरेका थिए।राती अबेर २ बजेसम्म साथीहरुसँग जागै बसेर सुत्न गएका अन्सारीलाई बिहान ९ बजे झुण्डिएको अवस्थामा फेला पारिएको उनका साथीहरुलाई उधृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ।

 

कुनै सुसाइड नोट नभेटिएको प्रहरीले जनाएको छ। उनको शवलाई नजिकैको नारायनगढ सिभिल अस्पताल पु¥याइएको छ।

 

प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले कलेजले महंगो शुल्क लिएको र पर्याप्त सुविधा उपलब्ध नगराएको आरोप लगाएका छन्। कलेजको महंगो शुल्कका कारण केही विद्यार्थी तनावमा परेको समेत उनीहरुले जनाएका छन्।प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई प्रहरीले लाठीचार्ज गरेको थियो। केहीलाई पक्राउ गरेर छोडिएको जनाइएको छ।

 

कलेजका अध्यक्ष रोशन लाल जिन्दलले अन्सारीले आत्महत्या गर्नुको कारण नखुलेको बताएका छन्। उनले कलेजविरुद्ध लगाइएका आरोपहरु आधारहीन रहेको बताएको छ।