गृह अन्तर्राष्ट्रिय माओवादीको आक्रमणमा परी ९ जना सुरक्षाकर्मीको मृत्यु

माओवादीको आक्रमणमा परी ९ जना सुरक्षाकर्मीको मृत्यु

सेयर गर्नुहोस्

एजेन्सी, २९ फागुन । भारतको छत्तिस गढमा माओवादीको आक्रमणमा परी ९ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । मृत्य हुनेमा सबैजना केन्द्रिय रिजर्व प्रहरी बलका जवानहरु रहेका छन् । किष्टाराम थाना क्षेत्रमा नक्सलवादीहरुले शक्तिशाली बम बिष्फोट गराएर सुरक्षाकर्मी सवार गाडी उडाएका थिए । छ जना प्रहरी जवान घाइते भएका छन् ।

 

घटना नक्सलवादीबाट प्रभाबित किष्टाराम थाना क्षेत्रमा भएको हो । यो घटनापछि प्रहरीले सर्च अभियान बढाएको छ । नक्सलवादीहरुको चहलपहल बढेपछि उनीहरुको गतिबिधी नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई बिशेष रुपमा सरकारले परिचालन गरेको छ ।

 

यसबाट नक्सलबादीहरु क्रुद्ध भइ सुरक्षाकर्मीसंग शत्रुवत व्यवहार गर्ने गरेको पाइएको छ । यसअघि छत्तिसगढकै बीजापुरमा प्रहरी कारवाहीमा परी १२ जना नक्सलवादी मारिएका थिए ।

 

भारतका गृहमन्त्री राजनाथ सिंहले शहीद भएका सुरक्षाकर्मीको परिवारमा समवेदना व्यक्त गरेका छन् । सन् २०१३ मे २५ का दिन पनि छत्तिसगढकै सुकमा जिल्लामा एक हजार भन्दा बढी नक्सलवादीहरुले काँग्रेसको परिवर्तन यात्रा माथि हमला गरी काँग्रेसका नेता बिद्याचरण शुक्ल सहित २५ जनालाई मारेका थिए । सो घटनामा अन्य थुप्रै व्यक्तिहरु घाइते भएका थिए ।

 

केही समययता छत्तिसगढमा नक्सलवादीहरुको गतिबिधि बढेको छ भने सुरक्षाकर्मी र नक्सवादीहरु एक अर्का प्रति शत्रुवत व्यवहार गर्दै आएका छन । यसबाट सर्बसाधारणमा भय र त्रास बढेको पाइएको छ ।