हेटौँडा २९ फागुन,प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विश्वासको मत लिनु नपर्ने भएको छ ।

 

प्रदेश सरकार गठनपछि विश्वासको मत लिनुपर्ने प्रावधान भएपनि यस प्रदेशमा मुख्यमन्त्री पौडेलको समर्थनमा स्वतः बहुमत भएपछि विश्वासको मत लिनुनपर्ने जनाइएको छ ।

 

एमालेकोतर्फबाट संसदीय दलको नेतामा निर्वाचित हुँदै मुख्यमन्त्री बनेका पौडेलको पक्षमा स्वतः बहुमत भएका कारण विश्वासको मत लिनुनपर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।

 

 

२८ माघमा प्रदेश प्रमुख अनुराधा कोइरालाबाट सपथ लिएका उनको कार्यकाल बुधबार महिना दिन पुरा हुनेछ । यस प्रदेशमा १ सय १० मध्ये एमालेका ५८ सांसद छन् । बहुमतका लागि ५१ जना सांसदको समर्थन हुनुपर्ने प्रावधान भएपनि एमाले एकल दलको स्वतः बहुमत भएका कारण उनले विश्वासको मत लिनुनपर्ने मुख्यमन्त्री स्रोतको भनाइ छ ।

 

हाल यस प्रदेशमा सरकारको पक्षमा ८१ सांसद छन् । एमाले र माओवादी केन्द्र (वाम गठबन्धन)को सरकार बनेका कारण एमालेका ५८ र माओवादी केन्द्रका २३ सांसद सरकारको पक्षमा रहेकोले हाललाई विश्वासको मत आवश्यक नरहेको दाबी छ ।