साङ्केतिक तस्वीर

फागुन २९, पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको घरमा प्रेसरकुकर बम फेला परेको छ ।

कुश्मा नगरपालिका–१ सहस्रधारमा रहेको अध्यक्ष मल्लको बा१६च २५२६ नम्बरको गाडीमुनि प्रेसरकुकर बम भेटिएको प्रहरीले जनाएको छ। गाडीको टायरमुनि प्लास्टिकभित्र पत्रिकाले बेरेर प्रेसरकुकर बम राखिएको थियो ।

 

 बम नेपाली सेनाको रणदल गुल्म कुश्मा र नेपाली सेनाको २३ नम्बर बाहिनी बागलुङको टोलीले निष्क्रिय पारेको छ । घर नजिकै रहेको कालीगण्डकी नदीको किनारमा लगेर बम निष्क्रिय पारिएको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो ।

 

राति राखिएको बम स्थानीयवासीले बिहान देखेका थिए । गएराति नै कालीगण्डकी क्रसर उद्योगले भाडामा लिएको कुश्मा नगरपालिका–७ शिवबहादुर घर्तीको जेसिबीमा समेत आगजनी गरिएको छ ।

 

सहाना निर्माण सेवाको ग१क ३७३६ नम्बरको जेसिबीमा आगजनी भएको प्रहरीले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मल्ल त्यो उद्योगका सञ्चालक हुनुहुन्छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । –रासस