

फागुन २८,सोमबार काठमाडौं भएको युएस बंगला विमान दुर्घटनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदबीच फोन वार्ता भएको छ।
विमान दुर्घटना स्थल र उद्दार कार्य अवलोकन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले सिंहदरबार फर्केर बंगालादेशकी प्रधानमन्त्री वाजेदलाई फोन गरी दुःख व्यक्त गरेका हुन्।
प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बगजाईंले बंगलादेशी प्रधानमन्त्रीसँगको फोन सम्पर्कमा प्रधानमन्त्री ओलीले विमान दुर्घटनामा ज्यान गुमाएका यात्रु र भौतिक क्षतिप्रति नेपाल सरकार दुःखी रहेको बताएको जनाएका छन्।
‘त्रासद् दुर्घटनाले आफू स्तब्ध भएको र दुर्घटनाको खबर पाउनासाथ नेपाल सरकारले शीघ्रातिशीघ्र उद्धार कार्य अघि बढाएको जानकारी दिनुभयो’, बजगाईंले प्रस नोटमा भनेका छन्।
बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु लिएर काठमाडौं आएको युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा परेका मध्ये ४९ जनाको मृत्यु भैसकेको छ।
बजगाईंले बंगलादेशकी प्रधानमन्त्री वाजेदले दुर्घटना लगत्तै उद्धारका लागि नेपाल सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिएको जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।