हेटौँडा,२६ फागुन,
प्रदेश नंबर ३ को विकास तथा आगामी कार्ययोजना, नीति तथा कार्यक्रमकाृ विषयमा “भिजन पेपर” निर्माणको लागि आज हेटौँडामा विज्ञहरुसँग परामर्श तथा छलफल भएको छ ।

   

मुख्य मन्त्री डोरमणी पौडेलको पहलमा भएको छलफल तथा अन्तरक्रियामा विषयगत विज्ञहरुले आफ्नो धारणा ब्यक्त गरेका थिए । प्रदेश नंबर ३ को विकासको लागि के कस्ता विषयहरु आवश्यक रहेका छन, यहाका आर्थिक श्रोतहरुको पहिचान सहित पर्यटन, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य सहितको विषयमा परामर्श भएको हो ।

बैठकमा अर्थ विज्ञ चन्द्रमणी अधिकारी, डाक्टर पुष्प कंडेल, कानुनका रमेश बडाल, परशुराम उपाध्यय, योजना निर्माणका शुशिल ज्ञावली,ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, पर्यटनमा अनिल लामा सहित विज्ञहरु गोविन्द घिमिरे, आनन्द पोखरेल, मिलन घिमिरे र डाक्टर तिलचन्द्र भट्टराईले विषयगत रुपमा योजना र नीति तथा कार्यक्रमको विषयमा धारणा ब्यक्त गरेका थिए ।

बैठकले सुरुको तीनमहिनाको लागि बनाईने नीति तथा कार्यक्रमको विषयमा छलफल तथा आउँदो आर्थिक वर्षको लागि जेठमा प्रस्तुत हुने नीति तथा कार्यक्रममा समावेश गर्न सकिने विषयबस्तुबारे समेत छलफल गरेको थियो ।
प्रदेश नंबर ३ मा छोटो समयमानै गर्न सकिने विकास तथा दिर्घकालिन समयमा हुने विकासको विषयमा समेत छलफल भएको छ । बैठकमा मुख्यमन्त्री पौडेलले अवको १० दिन भित्रमा सम्वन्धीत मन्त्रालयलाई नीति तथा कार्यक्रममा समावेश गर्ने विषयको बारेमा प्रतिवेदन तयार पार्न, मन्त्रालयलाई आवश्यक विज्ञको टोली निर्माण गर्न समेत निर्देशन दिएका छन् ।

बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले केन्द्रीय सरकारले समेत पाँच वर्षमा अधिकतम विकास निर्माणको काम गर्ने लक्ष्य लिएको सन्र्दभमा आफुहरु पनि पाँच वर्षभित्र जनताले देख्ने, महशुस गर्नेगरि विकासको लहर ल्याउने अठोटको साथ काम अघि बढाउने बताए । उनले समृद्धिको यो अभियानमा सबैलाई सहयोग गर्न समेत आग्रह गरे ।
छलफलमा प्रदेश मन्त्रीहरु, प्रदेशतहका उच्च पदस्त कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।