फागुन २६,चलचित्र ‘पंचायत’ को शीर्ष नेताहरुको सहभागितमा रेडकार्पेट ‘प्रिमियर ‘सो’ गरिएको छ । पूर्व प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता, कलाकार,  चलचित्रकर्मीलगायतको सहभागितामा शुक्रबार साँझ काठमाडौंको कुमारी हलमा प्रिमियर सो गरिएको हो ।

“चलचित्रले त्यतीबेलाको सामाजिक सांस्कृतिक चित्रण गर्न सफल भएको छ, कलाकारको प्रस्तुति राम्रो र प्रभावकारी छ,” पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने । उनले नाम, कथावस्तु र पात्रको प्रस्तुतिमा केही अन्तरविरोध जस्तो देखिएको पनि बताए ।

 

अर्का पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले चलचित्र यथार्थ, रोचक र मार्मिक भएको बताए । उनले अगाडि भने, “चलचित्रमा समाजको यथार्थ प्रतिबिम्व छ, विकृति विसंगति जुन ढंगले उजागर गरेको छ, बधाई छ ।”

 

पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले इतिहास र समाज चित्रण गरेको भन्दै नयाँ पुस्ताले तत्कालीन समयको राजनीतिक र सामाजिक परिवर्तन हेर्न पाउनु ठूलो उपलब्धी भएको बताए ।

 

पूर्व उर्जामन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुरानो भएपनि नेपाली समाजले भोगेको कुरा देखाउन खोजेको भन्दै कलाकारको मेहनतको प्रशंसा गर्दै भने, “ह्रदयविदारक दृष्य प्रस्तुत गरेको छ धेरै राम्रो छ ।”

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले ग्रामीण भेगको थुप्रै घटना चलचित्रमा समावेश भएको भन्दै प्रतिक्रिया दिँदै भने, “चलचित्र ससक्त बनेको छ । निर्माण टिमलाई बधाई छ ।”

 

नेपाली कांग्रेसका नेता तथा पूर्व संचारमन्त्री मिनेन्द्र रिजालले शक्तिशाली विषयबस्तुमा चलचित्र ‘पंचायत’ बनेको भन्दै भने, “चलचित्रमा घटेको घटना अब समाजमा नघटुन् भन्ने सन्देश दिन खोजेको छ ।”

 

चलचित्रको ‘प्रिमियर ‘सो’मा उद्योग मन्त्री मातृकाप्रसाद यादव, पूर्व सभामुख ओनसरी घर्ती मगर, माओवादी केन्द्रका नेता नारायण दाहाल, कांग्रेस नेतृ उमा रेग्मी, प्रहरी अधिकारीहरु सर्वेन्द्रनाथ खनाल, रमेश खरेल, छविलाल जोशी, चलचित्र निर्माता नरेन्द्र महर्जन, प्रदीपकुमार उदय, आकास अधिकारी, लगायत कलाकार र पत्रकारको सहभागिता थियो ।

 

गणेश गिरी, सुसान्त श्रेष्ठ र शंकर सुवेदीको लगानीमा बनेको चलचित्रको कार्यकारी निर्मातामा रवि अधिकारी हुन् । शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा रहेका नायक सरोज खनाल र नायिका नीता ढुंगाना छन् । शीर्ष नेताहरुबाट तारिफ पाएकाले राम्रो चलचित्र बनाएको  महसुस भएको अभिनेता खनालले बताए ।

 

‘पंचायत’ ले अमेरिकामा उत्कृष्ट अवार्ड पाइसकेको छ । विसं. २०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा संस्कृतिसँग जोडेर चलचित्र निर्माण गरिएको छ । चैत २ गतेबाट चलचित्र प्रदर्शन हुँदैछ ।