यादव चौलागाई

२५ फागुन, हेटौँडा ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मकवानपुरका एक गाउँपालिकाका अध्यक्षको राजिनामा माग गरेको छ ।

 

नेकपाले शुक्रबार बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको राजिनामा माग गरेको हो । नेकपाले बकैया गाउँपालिका अध्यक्ष खनाललाई कार्यकक्षमै भेटेर जनताको विकास र समृद्धिको लागि राजिनामा गरेर सहयोग गर्न आग्रह गर्दै लिखित पत्र बुझाएको हो ।

बकैयाका इन्चार्ज प्रल्हाद गौतमले बुदाँगत रुपमा विभिन्न मागसहित खनाललाई राजिनामा गर्न पत्र दिएका छन् । बकैयाको योजना सञ्चालन र अनुगमन गर्न जनसत्तासंग सहकार्र्य गर्न, गाउँपालिका केन्द्र सार्ने निर्णय तत्काल बदर गर्न र जनप्रतिनिधिले स्वेच्छाचारी रुपमा विलासी गाडी तथा सेवा सुविधा रोक्न माग गर्दै राजिनामा गर्न माग गरेको छ ।

 

पत्रमा कम्युनिष्ट पार्टीको तर्फबाट जनपरिषद प्रमुख निर्दोष क्षेत्रीको हस्ताक्षर गरेका छन् । राजिनामा नदिए कारवाही हुने चेतावनी समेत नेकपाले दिएको छ । इन्चार्ज गौतमले बकैयाका उपाध्यक्ष सहित १२ वडाका वडा अध्यक्षलाई पनि राजिनामाको लागि लिखित रुपमा आग्रह गर्ने बताए ।