हेटौंडामा सञ्चालन भैरहेको मेयर कप फुटबल प्रतियोगितामा २ नम्बर वडाको वनस्खण्डी टिम र १० नम्बर वडाको भूटनदेवी फुटबल टिम सेमीफाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको खेलमा भूटनदेवीले ११ नम्बर वडाको सहीद स्मारक फुटबल टिमलाई २–० गोल अन्तरले हराउँदै सेमीफाइनल यात्रा तय गरेको हो । खेलको चौथो मिनेटमा रिजन लामाले गोल गर्दै भूटनदेवीलाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा वीके लामाले अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा दुवैले गोल गर्ने केही राम्रो मौका पाएको भएपनि थप गोल हुन नसक्दा भूटनदेवी टिम २–० गोल अन्तरले विजयी भएको हो । खेलको म्यान अफ दी म्याच भूटनदेवी टिमका पहिलो गोलकर्ता रिजन लामा घोषित भए ।

उनले भ्वाइस अफ यूथ हेटौंडा चौकीटोलको तर्फबाट नगद १ हजार सहित म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे । यस्तै दोस्रो खेलमा उत्कृष्ट ‘कमब्याक’ गर्दै वनस्खण्डी टिमले सेमीफाइनल यात्रा तय गरेको हो । खेलमा २–० ले पछि परिसकेको अवस्थामा खेललाई बराबरीमा फर्काउँदै टाइब्रेरमा १ नम्बर वडाको पाथिभरा टिमलाई हराएको हो ।

पाथीभराको तर्फबाट ३५ औं मिनेटमा सुमन आले मगरले गोल गर्दै अग्रता दिलाएका थिए भने ४२ औं मिनेटमा ऋषि थापा मगरले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।
२ गोलले पछि परेको वनस्खण्डी टिमका लागि ५२ औं मिनेटमा विक्रम बानियाँले गोल गर्दै अन्तर घटाए । त्यसको ३ मिनेटपछि अनिल थापा मगरले गोल गर्दै खेललाई बराबरीमा फर्काए । बाँकी समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो ।
टाइब्रेकरमा पाथिभराको तmर्पबाट राहुल क्षेत्री, कृष्ण लामा र ऋषि थापा मगरले गोल गर्दा सुरेन्द्र आले मगरको प्रहार बाहिरियो भने सुमन आले मगरको प्रहार वनस्खण्डीका गोलरक्षक रोहित कार्कीले रोके । यता वनस्खण्डी टिमको तर्फबाट लक्ष्मण बिडारी, प्रविण श्रेष्ठ, रोहित कार्की र विक्रम बानियाँले गोल गरे । अनिल थापा मगरले गोल गर्न सकेनन् । खेलको म्यान अफ दी म्याच वनस्खण्डी टिमका गोलरक्षक रोहित कार्की भए ।