तस्बीर गुगल

काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणअन्तर्गत माटो काट्ने, सम्याउने, नाला निर्माण, रिटेनिङ वाल निर्माणलगायत कामका लागि २२ वटा ठेकेदार कम्पनी खटाइने भएको छ । नेपाली सेनाले हालसम्म आठवटा ठेकेदार कम्पनीलाई काम दिइसकेको छ भने थप १४ कम्पनीलाई कामका लागि आशयपत्र दिएको छ ।

सेनाले बुधबार जारी गरेको प्रेस नोटअनुसार द्रुतमार्गको मार्गाधिकारभित्र परेका रूख कटानलाई तीव्रता दिने कार्य भइरहेको छ । हाल मकवानपुरको बुदुने र लेनडाँडामा रूख कटान भइरहेको छ ।
मार्गाधिकारमा परेका काठमाडौं र मकवानपुरका निजी तथा ऐलानी जग्गाहरूको मुआब्जा र घर टहराहरूको क्षतिपूर्ति वितरण भइसकेको सेनाले जनाएको छ । तर, ललितपुरको बुङमती र खोकनामा विवाद निराकरणका लागि स्थानीय जनप्रतिनिधि, सरकारी निकाय र सरोकारवालाबीच छलफल भइरहेको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

द्रुतमार्ग निर्माण तथा आयोजनास्थलको सुरक्षार्थ पहिलो चरणमा गत श्रावणको दोस्रो साताबाट काठमाडौंको मख्खुबेँसी, मकवानपुरको सिस्नेरी दोभान, लेनडाँडा, बुदुने तथा बाराको बागदेवमा सुरक्षा बेसक्याम्प स्थापना भइसकेका छन् । ती स्थानमा रहेका पाइलट ट्र्याकको पहिरो पन्छाउने र विस्तृत इन्जिनियरिङ सर्भेको काम सम्पन्न भएको पनि सेनाले जनाएको छ ।

‘आयोजनाबाट खरिद गरिएका विभिन्न हेभी इक्विपमेन्ट, सवारीसाधन तथा अन्य उपकरणहरू फिल्डमा तैनाथ गरी तीव्रताका साथ माटो काट्ने, सम्याउने र भर्ने कार्य भइरहेको छ,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रेस नोटमा उल्लेख छ । हाल ललितपुरको खोकना, मकवानपुरको ठिंगन तथा राजदमार र बाराको निजगढ गरी ४ स्थानमा अस्थायी बेसक्याम्प खडा गरिएको छ । मकवानपुरको महादेवटारमा चाँडै नै थप अस्थायी बेसक्याम्प स्थापना गर्न लागिएको पनि सेनाले जनाएको छ ।नयाँपत्रिकाबाट