काठमाडौं, २२ फागुन– राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार अपरान्ह ४ बजे बैठक बस्ने भएको हो ।

राष्ट्रपति निर्वाचनका लागि २९ फागुनमा मतदान हुँदैछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरु राष्ट्रपति निर्वाचनमा मतदाता हुनेछन् । ती सबै सदनमा वाम गठबन्धनको भारी बहुमत छ ।

वाम गठबन्धनले एमालेका तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दिने सहमति गरेको छ । सो सम्बन्धमा पार्टीको औपचारिक निर्णय गर्न एमाले स्थायी समितिको बैठक बस्न लागेको हो ।

एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पूर्ण कार्यकाल पूरा गर्नेगरी राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सार्ने सम्भावना बलियो छ । संविधान जारी भएपछिको दुईवर्षे संक्रमणकालमा सन्तुलित भूमिका निर्वाह गरेको र संविधानतः ५ वर्षे कार्यकाल पूरा गर्न नपाएकाले भण्डारीलाई नै अघि सार्ने सम्भावना देखिएको हो ।

 

पूर्व राष्ट्रपतिलाई सेवा सुविधा दिएर राख्नु पर्ने भएकाले पनि वर्तमान राष्ट्रपतिलाई पुन अघि सार्दा राज्यलाई थप ब्ययभारबाट बचाउन सकिने पनि आम तर्क उठ्ने गरेको छ ।