

सत्तारुढ दल एमाले–माओवादी र संघीय समाजबादी फोरमबीचको सहमति लम्बिएको छ ।
विगत १० दिनदेखि फोरमलाई समेत सरकारमा सहभागि गराउने उदेश्यले बामगठबन्धन र फोरमबीच निरन्तर बार्ता र छलफल भइरहेपनि भागबण्डामा कुरा नमिल्दा ओली नेतृत्वको मन्त्रिपरिषदले पुर्णता समेत पाएको छैन् ।
संविधान संशोधनलाई मुल मुद्दा बनाएको फोरमले त्यसमा प्रतिवद्धता जनाए सरकारमा सहभागि हुने बताउदै आएको छ । तर, उसले मन्त्रालय र अरु पदीय भागबण्डामा चासो देखाएपछि सहमतिमा ढिलाई भएको वार्तामा सहभागी नेताहरुले बताएका छन् ।
के-के माग्यो फोरमले ?
१ उपप्रधानमन्त्री
२ उपसभामुख
३ तीनवटा मन्त्रालय
तर प्रधानमन्त्री केपी ओली उपप्रधानमन्त्री नै नराख्ने पक्षमा छन् ।
त्यस्तै ओली तीन मन्त्रालय फोरमलाई दिन सहमत भएपनि उपसभामुख दिन तयार भैसकेका छैनन् । जसका कारण सहमति हुन ढिलाइ हुँदै आएको छ ।
एमाले नेता सुवास नेम्वाङका अनुसार अव बुधबारयता फोरमसँग शीर्ष नेताले छलफल गर्ने सम्भावना अत्यन्त कम छ । ‘आजै पाकिस्तानी प्रधानमन्त्री दुईदिने नेपाल भ्रमणमा आउँदैछन्, उनको सम्मान र भेटबार्ता हुन्छ । मंगलबार बिहानै संसद समेत भएकाले बुधबारयता वार्ता र सहमति हुने देखिँदैन’ नेता नेम्वाङले रातोपाटीसँग भने ।
उनले ढिलै भएपनि सहमतिमा हस्ताक्षर भने हुने दावी भने गरे । ‘धेरै कुरा मिलिसकेकाले सहमति हुन्छ समय समेत त्यस्तै परेकाले अलि लम्बिएको जस्तो मात्रै हो’ नेता नेम्वाङले सुझाए ।
बाम गठबन्धन र फोरमका नेताहरुबीच आइतबार बिहान र बेलुका गरेर दुई चरणमा छलफल भएको थियो ।
दुवै चरणको छलफलपछि मन्त्रालयको भागबण्डामा सहमति जनाउने जिम्मा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो ।
सोही अनुसार सोमबार मध्यान्ह ९आज० तीन नेताबीच बालुवाटारमा छलफल पनि भयो । तर, सहमति भने हुन सकेन ।
यसअघि नै दुवैतर्फका नेता सम्मिलित कार्यदलले सहमतिको २ बुँदे मस्यौदा तयार गरिसकेपनि पदीय भागबण्डामा भने कुरा नमिलेपछि त्यसको जिम्मा तीनै दलका अध्यक्षलाई सुम्पेको थियो ।
यसअघि आजै सहमति हुने भोलि नै हुने भन्दै आएका नेताहरु समेत पछिल्लो समय सहमतिबारे बोल्न रुचाउदैनन् ।
किन मागे उपेन्द्रले उपप्रधानमन्त्री ?
बाम गठबन्धनसँग सहमित गरेर सरकारमा जाँदा उपेन्द्र यादव आफ्नै नेतृत्वमा जान चाहन्छन् ।
यादव निकट श्रोतले भन्यो, –‘यादव यसअघि उपप्रधानमन्त्री भैसकेका हुन् । अव मन्त्रीमात्रै बन्दा विभिन्न टिप्पणी हुने र मर्यादाको प्रश्न समेत उठने भएकाले उनले उपप्रधानमन्त्री खोजेका हुन् । त्यति मात्रै नभएर उपेन्द्रको पार्टीमा आफु लगायत रेणु यादव र राजेन्द्र श्रेष्ठलाई जसरी पनि मन्त्री बनाउनै पर्ने बाध्यता छ ।’
यता उपेन्द्रलाई उपप्रधानमन्त्री दिँदा यसअघि एमालेबाटै उपप्रधानमन्त्री भएका ईश्वर पोखरेललाई पनि उपप्रधानमन्त्री बनाउनुपर्ने भएकाले यो विषय व्यवस्थापन गर्न प्रधानमन्त्री ओलीलाई पनि समस्या छ ।
किन चाहियो फोरम ?
बाम गठबन्धनसँग अहिले सरकार चलाउने स्पष्ट बहुमतमात्रै होइन, झण्डै दुई तिहाइनजिक सांसद संख्या छन् । ११ सांसद भए गठबन्धनको सरकार दुई तिहाइ बहुमतको बन्छ । संघीय समाजवादी फोरमसँग १६ सांसद छन् । फोरमका समेत जोड्दा सरकारसँग सुविधाजनक दुई तिहाइ पुग्ने र त्यसरी बनेको सरकार दिगो र बोल्ड डिसिजन गर्नसक्ने हुन्छ । यस्तो अवस्थामा सरकारका कामकारवाही समेत प्रभावकारी हुन सक्छन् ।
तीन विषयमा छलफल केन्द्रीत
सोमबार तीन अध्यक्षबीच भएको कुराकानीमा खासगरी मन्त्रालयको भागबण्डा, उपेन्द्रको पदीय मर्यादा र उपसभामुखमा केन्द्रीत भएको बताइएको छ । सोमबारको छलफलमा उपेन्द्रले यी तीन विषयामा आफ्नो बटम लाइन सुनाएका थिए । तर, सोमबार समय अभावले पुन अर्को दिन बस्नेगरी तीनै नेता बालुवाटरबाट बाहिरिएका थिए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।