१७ फागुन,नेपालगन्ज – यहाँका धर्मगुरुहरुले होली पर्व मर्यादित र शान्तिपूर्णरुपमा मनाउन अपिल गरेका छन् ।

 

बाँके जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बुधबार भएको छलफलपछि हिन्दू धर्म गुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना मन्सुर मन्जरी र मौलाना अब्दुल जव्बार र सिख धर्मगुरु राजेन्द्रसिंह सरदारले यस्तो अपिल गरेका हुन् ।

 

आज र भोलि दुई दिन जिल्लामा मनाइने होली पर्वलाई दृष्टिगत गरी धार्मिक गुरुहरुसँग छलफल गरिएको थियो ।

 

प्रजिअ रमेशकुमार केसीको नेतृत्वमा भएको छलफलमा होली पर्वलाई धार्मिक तथा सामाजिक सद्भावयुक्त बनाउने सन्दर्भमा छलफल भएको थियो ।

बैठकमा विशेषतः बाँके जिल्लामा मनाइने होली पर्व शुक्रबार परेको र शुक्रबार नै मुस्लिम धर्मावलम्बीको नमाज पढ्ने दिन भएकाले उच्च सतर्कता अपनाउनुपर्ने विषयमा छलफल गरिएको थियो । रासस