file photo

फाल्गुन १५, २०७४  विश्वकप क्रिकेट छनोट पूर्व यूएईविरुद्धको अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । जिम्बावेमा यूर्एईले दिएको १ सय ७२ रनको उच्च लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी हुँदा २८ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

वर्षाका कारण मैदान हिलाम्बे भएपछि खेल २९ ओभरमा छोट्याईएको थियो । ६९ रन जोड्दा चार विकेट गुमाएको स्थिति सम्हाल्दै शरद भेषावकरले दिपेन्द्र सिंह ऐरी र आरिफ शेखसँग उत्कृष्ट साझेदारी गरेका थिए । पांचौ विकेटका लागि दिपेन्द्रसंग ५७ र आरिफसँग छैठौं विकेटका लागि नटआउट ४६ रनको साझेदारी गरे । भेषावकर ४१ र आरिफ २३ रनमा नटआउट रहे । दिपेन्द्रले ३२ बलमा ४१ रनको योगदान गरे । कप्तान पारस खड्का २८, उपकप्तान ज्ञानेन्द्र मल्ल १२, अनिल शाह ११ र दिलिप नाथ ४ रनमा आउट भए ।

यसअघि टस जितेर व्याटिङ गरेको यूएई २८ ओभर ५ वलमा १ सय ७१ रनमा अलआउट भएको थियो । १ सय ६५ रन जोड्दा ६ विकेट गुमाएको यूएईले थप ६ रन जोड्न ४ विकेट खर्चेको थियो । अन्तिम ओभरमा करण केसीले ३ विकेट लिएपछि यूर्एई १ सय ७१ रनमा अलआउट भयो । ८५ रनमा ५ विकेट गुमाएको स्थिति सम्हाल्दै मोहमद उस्मान र अद्नान मुफ्तीले छैठौं विकेटका लागि ६ दशमलब २ ओभरमा ६७ रनको साझेदारी गरे । मुफ्ती ३७ र उस्मान २६ रनमा आउट भए । अस्फाक अहमदले ४२ र गुलाम सबेरले ३२ रन बनाए । ६ ओभर बलिङ गरेका ललित भण्डारीले ४० रन खर्चेर ४ विकेट लिए । ललित राजबंशीले २ र पारस खड्काको नाममा एक विकेट रह्यो ।


सवैभन्दा किफायती बलिङ गरेका सन्दिप लामिछानेले ५ ओभरमा १६ रन मात्र दिएपनि विकेट भने लिन सकेनन् । दोस्रो अभ्यास खेलमा नेपालले बिहीबार हङकङसंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका औपचारिक खेल भने आइतबारबाट सुरु हुनेछन् । पहिलो दिन नेपालले आयोजक जिम्बावेसँग प्रतिस्पर्धा गर्दै विश्वकप छनोट यात्रा सुरु गर्नेछ ।