फागुन १४,इराकको एउटा अदालतले इस्लामिक स्टेट्स आइएस समूहसँग आवद्ध भएको अभियोगमा टर्कीका १६ महिलालाई मृत्युदन्डको सजाय सुनाएको छ ।इराकको एक अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुरा बताएका छन् ।

 

इराकको सर्वोच्च न्याय परिषदका प्रवक्ताकाअनुसार ती महिलाहरुले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ ।न्यायाधीशकाअनुसार ती महिलाहरूले आइएस लडाकूहरूसँग बिहे गरेको र आवश्यक सामग्री उपलब्ध गराएर लडाकूहरूलाई आक्रमणका लागि सघाएको स्वीकारेका छन् ।

 

ती महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र उनीहरुलाई कालो पोसाकमा गत आइतबार बग्दादस्थित फौजदारी अदालतमा उपस्थित गराइएको थियो ।ती १६ महिलामध्ये चारजनाको स–साना बालबालिका पनि रहेका जनाइएको छ ।

 

आइएस लडाकूहरुको आफन्त भएको आशंकामा कम्तीमा ५६० जना महिला र ६०० बालबालिका इराकमा पक्राउ परेका ‘एएफपी’ समाचार समितिले जानकारी दिएको छ ।सजाय सुनाइएकामध्ये एक महिलाले आइएस लडाकूहरूसँग इराकी फौजविरूद्ध आफूले लडाइँ गरेको न्यायाधीशसमक्ष स्वीकार गरेकी अदालतका एक अधिकारीले बताएका छन् ।

 

सन् २०१७ मा मोसुल सहरका लागि भएको लडाइँमा लडेको आरोपमा गत जनवरीमा एकजना जर्मन महिलालाई मृत्युदन्ड सुनाइएको थियो ।यसै महिनाको सुरूतिर पनि टर्कीकी एक महिलालाई मृत्युदन्ड दिइएको थियो भने अरू १० जनालाई आजीवन कारावासको सजाय सुनाइएको पनि जनाइएको छ । रासस सिन्ह्वा