फागुन १३,नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा संसदीय दलको नेता चयनका लागि कार्यदल गठन गरेको हो ।

 

 

कार्यदल सदस्यहरूमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे रहेका छन् ।समितिले संसदीय दलको नेता चयनका लागि मिति तोक्ने बताइएको छ ।फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया थालेको हो । बैठकले संसदीय दलको विधानलाई पनि अनुमोदन गरेको छ ।

 

 

कांग्रेसले संविधानको ढाँचाअनुसार संसदीय दलको पुरानो विधानलाई संशोधन गरी शनिबार नयाँ विधान बनाएको थियो । कांग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले कांग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।कांग्रेसले संसदीय दलका नेता चयनका लागि भरसक सर्वसम्मत् प्रयास गर्ने र त्यो नभए निर्वाचनमा जाने तयारी गरेको छ ।