फागुन १२,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री छनोटका विषयमा पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन्।शनिबार गृहजिल्ला चितवनमा प्रेस सेन्टर र प्रेस चौतारी नेपाल संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले मन्त्रीमण्डलमा नयाँ र पुराना दुवैलाई मिलाएर पठाउने बताए।

 

‘मिडियामा आएजसरी मन्त्री छनौटका विषयमा पार्टीभित्र कुनै विवाद छैन’, उनले भने, ‘हिजोनै झण्डै टुंगिएको थियो दुबै पार्टीसँगै बसेर मिलान गर्नुपर्ने भएकाले मात्रै केही कुरा बाँकी रहेका छन्।’

 

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताए।

 

अध्यक्ष दाहालले वामपन्थीको एकताबाट प्रतिक्रियावादीहरु आत्तिएका कारण कुनै गम्भीर घटना घटनेतर्फ संकेत गर्दै सबैलाई सचेत हुन आग्रह समेत गरेका छन्।
कम्युनिस्ट शक्तिको सरकार बनेसँग यसखालका षड्यन्त्रको आभाष हुन थालेको उनको दावी थियो।

 

उनले भने, ‘अहिले जसरी कम्युनिष्टको एकता बनेको छ । एउटा दुई तिहाई नजिकको सरकार बन्दै छ, प्रतिक्रियावादी शक्तिले नेपालको इतिहासमा खास खास बेलामा यस्ता घटना घटाउने पनि गरेका छन्। त्यसलाई हेक्का राख्नुपर्छ।’