तस्बीर गुगल

फागुन २,निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ ।  आयोगका पदाधिकारीहरुले राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपति भवन शितल निवासमा बुधबार साँझ भेटगरी प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण मत परिणाम बुझाएका हुन ।

 

प्रतिनिधिसभा समानुपातिकतर्फका उमेदवारहरुको नामावली दलहरुले बुझाएलगत्तै आयोगले सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले ६÷६ सिटसंख्या बाँडफाँड गरिएको थियो ।

 

सोही सिटमा संवैधानिक व्यवस्थाअनुसार दलहरुले आ–आफ्नो अन्तिम सूची पेश गरेलगत्तै आयोगले ती उमेदवारहरुलाई विजयी भएको घोषणा समेत गरेको थियो ।

 

निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश गरेलगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ ।