नविन तिमल्सीना
हेटौंडा,१० माघ,हेटौंडा नगर विकास, शैक्षिक क्षेत्र र सहिदस्मारकका निमाणकर्ताका रुपमा जिल्लास्तर तथा देशभरै चर्चा कमाएका प्रदेश सांसद डोरमणी पौडेल प्रदेश ३ को सभामुख हुने सम्भावना बलियो देखिएको छ ।

यस प्रदेशमा एमालेको एकल बहुमत रहेका कारण पनि पौडेल सभामुखको सम्भावना नजिक पुगेको पार्टी केन्द्रीय प्रभावशाली नेतारुले समेत बोलेका छन् । प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा कायम हुनु र जेष्ठ सदस्यका हिसाबले प्रदेश सांसदहरुलाई सपथग्रहण गराउने मौका पाउनु डोरमणि पौडेलका लागि संयोगमात्र नहुन सक्छ । सम्भवतः उनी प्रदेश नम्बर ३ को सभामुखसमेत हुनेछन् ।

दुईपटक हेटौंडा नगरपालिकाको मेयर निर्वाचित भएका पौडेल १५ वर्षदेखि नेपाल नगरपालिका संघको अध्यक्ष छन् । स्थानीय तहको अधिकारका विज्ञ र प्रशिक्षकसमेत रहेका पौडेल मुख्यमन्त्रीकै दाबेदार थिए । सम्भवतः उनी यो प्रदेश संसदको पहिलो सभामुख हुने अबसर पाउनेछन् ।

पौडेल सभामुख भए भने उपसभामुख माओवादीले पाउनेछ । त्यो अवस्थामा माओवादीबाट उपसभामुखमा राधिका तामाङ, कञ्चन खनाल वा सुशीला पुनको सम्भावना हुने जनाइएको छ ।