भीमफेदी

हेटौँडा,९ माघ,
हेटौंडाबाट सिस्नेरी–फर्पिङ हुँदै काठमाडौं जाने सडक चारदिनदेखि अवरुद्ध भए पनि खुलाउन कुनै प्रयास भएको छैन । दक्षिणकाली नगरपालिका बज्रङमा माघ ५ गते राती सुमोको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएपछि दक्षिणकाली नगरपालिका प्रमुख आफैंले उक्त सडक भएर सवारी चल्न नदिएका हुन् ।

दक्षिणकाली नगरपालिका प्रमुखले भाडाको सुमो उक्त बाटो भई चल्न नदिने बताएपछि चारदिनदेखि कुनै पनि भाडाको सुमो फर्पिङ हुँदै काठमाडौं आवत्जावत् गर्न नपाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

निजी सवारीलाई भने कुनै अवरोध नभएको बताइएको छ । दैनिक करिब ८०० सुमो चल्ने हेटौंडा–सिस्नेरी–काठमाडौं बाटो अवरुद्ध भएपछि त्रिभुवन राजपथको पालुङ–नौबिसे सडक खण्ड र चन्द्रागिरी हुँदै सञ्चालन भैरहेको छ ।