
माघ ६,कालिकोटमा दुई सातादेखि फैलिएको भाइरल ज्वरोले ५ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी बिरामी छन्। लामो खडेरीले खाडाचक्र नगरपालिकाका २, ३ र ४ नम्बर वडामा भाइरल फैलिएको हो।
खाडाचक्र ४ का दत्त विश्वकर्माका ९ महिनाका छोरा लक्ष्मण, संगीता सुनारकी एकमहिने छोरी रश्मि, गोबी विश्वकर्माका डेढ महिनाका छोरा दीपकको मृत्यु भएको वडाध्यक्ष धनसिंह कामीले बताए।
तीनै बालबालिका एकै टोलका हुन्। उनका अनुसार ४ नम्बर वडाको दलित टोलमा मात्र ७० जना बिरामी छन्। दुई साताअघि ३ नम्बर वडाका वृद्ध बुदे पाण्डेको भाइरल ज्वरोले मृत्यु भएको थियो भने सोही गाउँका ७४ वर्षीय महानन्द पाण्डेको बिहीबार मृत्यु भएको आफन्त कुम्मे पाण्डेले जानकारी दिए।
दलित टोलमा फैलिएको भाइरल ज्वरो नियन्त्रणका लागि जिल्ला अस्पतालबाट कोही नआएको वडा सदस्य जय विकले गुनासो पोखेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
खाडाचक्र ४ ताडीमा बिरामी परेको खबर आए पनि धेरै विरामी भएको आफूलाई जानकारी नभएको जिल्ला स्वास्थ्य प्रमुख डा। कौशल अलीले बताए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।