६ माघ रासस,पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र इञ्जिनियर शेखर पोखरेललाई पितृ शोक परेको छ ।उहाँका पिता मास्टर ईश्वरीप्रसाद पोखरेलको १०० वर्षको उमेरमा गएराति आफ्नै निवास सिनामंगलमा निधन भएको हो ।

 

विसं १९७५ साल साउन ५ गते खोटाङको खार्पामा जन्मनुभएका मास्टर पोखरेल ३५ वर्ष शिक्षण पेसामा संलग्न हुनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र चार छोरी हुनुहुन्छ । उहाँको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

 

उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेल, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायतका महानुभाव आर्यघाट पुग्नुभएको थियो ।