
६ माघ। नेपाली साहित्यको बजार निकै सानो छ । तैपनि यहाँ दैनिक एउटा वा त्योभन्दा बढी पुस्तक बजारमा आउने गरेका छन् । यो साता काठमाडौंको भृकुटीमण्डपमा पुस्तक मेला लाग्यो । सोही मेसोमा सातभन्दा बढी पुस्तक सार्वजनिक भए । तीमध्ये चारवटा पुस्तकले बढी चर्चा पाइरहेका छन् ।
त्यसो त पछिल्लो समयमा साहित्यिक बजारमा अरु पनि कृतिहरु आएका छन् । महेश थापाको नमोनमका साथै मञ्जरी प्रकाशनले नेपालेश्वर र वीरचक्रजस्ता ऐतिहासिक उपन्यासहरु पनि बजारमा ल्याएको छ ।तर, हामीले यहाँ यसैसाता बजारमा आएका चारवटा कृतिका बारेमा सामान्य चर्चा गरेका छौं ।
यारः नयनराज पाण्डे
झण्डै दर्जन साहित्यिक कृति, दुई दर्जन टेलिश्रृंखला र केही चलचित्रसमेत लेखेका नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ले यो साता बढी चर्चा पायो ।
‘उलार’, ‘लू’, ‘सल्लिपीर’, ‘घामकिरी’ र ‘चकलेट’जस्ता बजार तताएका कृति प्रकाशन गरेका कारण पनि उनी पाठकमाझ प्रख्यात छन् ।
कृति विमोचनका बेला भेला भएका सयौं पाठकले प्रज्ञा प्रतिष्ठानको डवली भरिएको थियो । सकेसम्म फेसबुकमा राजनीतिक टिप्पणी नगर्ने, नयाँ(पुराना लेखकसँग मित्रवत् सम्बन्ध राख्ने भएकाले पनि उनको विमोचनमा ठूलो संख्यामा लेखक(कविको भेला हुने गर्छ ।
यो साताका कृति बिमोचनमध्ये उनी सर्वप्रिय मात्र भएनन्, पुस्तक बिक्रीका हिसावले पनि अब्बल रहे ।
२५ वटा संस्मरणहरुको कथात्मक विवरण भएको पुस्तक हो, यार ।
वाल्यकालदेखि साहित्यिक यात्रासम्म भेटिएका साथी(भाइहरुको कथा यसमा अटाएका छन् । पाठकहरुबाट पनि यसले राम्रो प्रशंसा बटुलिरहेको छ ।
मध्यान्तरः अनुपम रोशी
गएको साता अनुपम रोशीको पुस्तकले पनि निकै चर्चा पाएको थियो । यौन मनोविज्ञानमा रुचि भएकी लेखिका अनुपम रोशी कुनै पनि विषयमा खुलारुपमा बोल्ने र लेख्ने गर्छिन् ।
स्वतन्त्र जीवन बिताइरहेकी अनुपमाले महिलाको यही विषयलाई आधार बनाएर गएको साता ‘मध्यान्तर’ कथा संग्रह प्रकाशित गरिन् ।
यसअघि ‘कुमारी आमा’, ‘नाङ्गो मान्छे’ र ‘कालो छाँया’ उपन्यास प्रकाशन गरेकी अनुपम रोशीले यसै वर्ष युवा मोती पुरस्कार पनि प्राप्त गरेकी थिइन् । ‘मध्यान्तर’मा १६ वटा कथा संग्रहित छन् ।
ओ नायकः सुनिता खनाल
सामाजिक सञ्जालको जमानामा अब पाठकसँग लेखक टाढा छैन । यही कारण कृति ननिस्किँदै केही लेखक सेलिब्रेटी हुने गरेका छन् । सुनिता खनाल यस्तै कवि हुन्, जसले मिडियामा प्रकाशित केही कविताबाटै चर्चा पाइन् ।
यो साता विमोचन भएको सुनिताको कृति ‘ओ नायक’ हाइपको कारण यही हो ।
त्यसो त उनका कविता महिलाले लेख्ने कविताको भिडमा अलग छन् । धेरै महिला कवि महिलाका पीडा कहन्छन् । तर, सुनिताले पुरुष पीडा कहेकी छन् ।
चाहे त्यो शीर्ष कविता ‘ओ नायक’ होस् वा बुवाका विषयमा लेखिएका ४ कविताहरु नै किन नहुन् ।
धेरै पुरुषले नारीका समस्या, पीडा लेखेका छन् तर कम नारीले मात्र पुरुषका पीडा कहेका छन् । सुनिता त्यो वर्गमा पर्छिन् ।
मिराजः कृष्ण ढुंगेल
भ्यालेन्टाइन चाड युवाहरुको प्रिय बन्दै गएको सन्दर्भमा प्रेमयुक्त कृतिहरु बजारमा आउने क्रम बढेको छ ।
हरेक लेखकले सुरुमा लेख्दै च्यात्ने गरेका प्रेमपूर्ण प्रसङ्गलाई पुस्तकका रुपमा प्रकाशन गर्ने क्रम बढ्दै जाँदा अहिले प्रेम पुस्तकहरुको बाढी नै आएको छ । यद्यपि केही प्रेम कृतिले सुरुमै केही परिपक्वता धारणा गरेका हुन्छन् ।
कृष्ण ढुंगेलको ‘मिराज’ यस्तै प्रेमपूर्ण कृति हो । मिराज, आकृति र सम्झनाबीचको त्रिकोणात्मक प्रेमकथालाई ‘मिराज’ उपन्यासले अनौठो तरिकाले अघि बढाएको छ ।
सँगै सुतेको साथी राति अचानक घाइते अवस्थामा प्रहरीले भेटेको कथाबाट सुरु हुने मिराजको मुख्य पात्रले दिएको विवरणको आधारमा यो उपन्यास अघि बढेको छ ।
बजारमा यसअघि आएका प्रेम विषयक उपन्यासका केही प्रसङ्ग र परिभाषाको साहारा लिएका कारण यसका लेखक कृष्ण ढुंगेल अध्ययनशील युवा लाग्छन् ।
सायद यही कारण पहिलो उपन्यासबाटै उनी धेरै लेखकको ध्यान खिच्न सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।