पछिल्लो समय स्पेनिस ला लिगामा खराब प्रदर्शन गरिरहेका क्रिस्टियानो रोनाल्डोले रियलम्याड्रिडसमक्ष नयाँ माग राखेका छन् । सन् २०२१ सम्म रियलमै रहनका लागि रोनाल्डोले प्रतिसाता ३ लाख ६० हजार पाउन्ड पारिश्रमिक हुनुपर्ने माग व्यवस्थापकसँग राखेको स्पेनिस मिडियाले जनाएका छन् । यसै साता भिल्लारियलसँग १–० ले स्तब्ध भएपछि रियलका अध्यक्ष फलोरेन्ट परेजले स्टार खेलाडीको बहिर्गमन हुन सक्ने चेतावनी दिएका थिए ।
मेसीकै बराबर हुनुपर्ने
लियोनल मेसीप्रेरित बार्सिलोनाले यस सिजनमा लिगमा दमदार प्रदर्शन जारी राखेको छ । साबिक विजेता रियलमाथि स्पष्ट १९ अंकको अग्रता लिँदै बार्सिलोना उपाधि होडमा एक्लै अगाडि बढिरहेको छ । बार्सिलोनाले आफ्ना प्रमुख स्टार खेलाडी मेसीको प्रतिसाता पारिश्रमिक ३ लाख ५५ हजार पाउन्ड तोकेको छ ।
यता, स्पेनिस लिगको पछिल्ला १२ खेलमा केवल ४ गोल मात्र गरेका रोनाल्डोले मेसीबराबर नै सुविधा हुनुपर्ने माग राखेका छन् । मेसीले समग्रमा बार्सिलोनाबाट वार्षिक १ करोड ८६ लाख पाउन्ड थाप्ने गर्छन् ।
सम्झौता पूरा भएन
गत वर्ष रियलले प्रमुख पाँच उपाधि जित्दा रोनाल्डो नै नायक बनेका थिए । पाँच वर्षपछि स्पेनिस लिग तथा च्याम्पियन्स लिगको उपाधि रक्षा गर्दा रोनाल्डोले ‘म्याच विनिङ’ प्रदर्शन गरेका थिए । त्यसै प्रदर्शनका आधारमा रियलका अध्यक्ष परेजले रोनाल्डोको पारिश्रमिक र सुविधा बढाउने वाचा गरेका थिए ।
तर, यस सिजनको लिगमा अन्यन्तै खराब प्रदर्शन गरेपछि रोनाल्डोसँग गत वर्ष गरेको सम्झौता परेजले पूरा गरेका छैनन् । ‘रोनाल्डोलाई खुसी पार्न परेजले गोप्य रूपमा सम्झौता गरेका थिए तर उनले अहिलेको नतिजाअनुसार सम्झौता पूरा गर्ने छाँटकाँट देखाएका छैनन्,’ एल मार्काले जनाएको छ ।
युनाइटेड लक्ष्य
रियलमा बिस्तारै साख गुमाउँदै गएका रोनाल्डोले अब नयाँ गन्तव्यका रूपमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई रोज्ने तयारी गरेका छन् । सन् २००९ मा आठ करोड पाउन्डमा रोनाल्डो युनाइटेडबाटै रियलमा अनुबन्धित भएका थिए ।
रियलमा पाँच वर्षको सम्झौता बाँकी रहँदा रोनाल्डो ‘लोन’ वा फ्री ट्रान्सफरका रूपमा युनाइटेड जान सक्छन् । यता, युनाइटेड पनि रोनाल्डोलाई भित्र्याउन चाहिरहेको छ । स्पेनिस पत्रिका डिरिओ एसले गत सोमबार सम्प्रेषण गरेको समाचारमा रोनाल्डो र युनाइटेड नजिक भएको शीर्षक राखेको थियो । सो समाचारमा रोनाल्डो पुनः युनाइटेड जान सक्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।