तस्बीर गुगल

एजेन्सी । उनीहरु दुबैको उचाइँ ३ फिटभन्दा अग्ला छैन । यो जोडी दुनियाकै सबैभन्दा पुड्को जोडी हो । यो जोडीले उचाइ प्रेम र सम्बन्धमा बाधक हुँदैन भन्ने कुरा प्रमाणित गरिदिएको छ ।

ब्राजिलका पाउलो ग्राब्रियल डा सिल्भा र क्याटिउसिया होसिनोको उचाई क्रमशः ३४.८ र ३५.२ इन्च छ । विश्वको सबैभन्दा पुड्को जोडीको रुपमा गिनिज बुकमा नाम लेखाउने तयारी गरिररहेको यो जोडीको १० वर्षअघि सोसल मिडियामा भेट भएदेखि सम्बन्ध सुरु भएको रहेछ ।


त्यसपछि उनीहरुले एमएसएन मेसेन्जरमा च्याट गर्न थालेछन् । ३१ वर्षिय पाउलो, जो निकै दुर्लभ मानिने डायस्ट्रोफिक डिस्प्लाजिया ड्वाफिर्ज्मबाट ग्रसित छन् । १० वर्षअघि होसिनोलाई पहिलोपटक देख्दा नै माया बसेको बताउँछन् ।

मन परेपछि पाउलोले होसिनोलाई पर्पोज ठोकिहाले । तर होसिनोलाई मन परेन । उनी पाउलोसँग लभ गर्ने मूडमा थिइनन्, त्यसैले म्यासेन्जरमा उनलाई ब्लक हानिन् ।

तर १८ महिनापछि होसिनोले पाउलोलाई अनब्लक गरिन् र कथाले अर्कै मोड लियो । होसिनोले अनब्लक गरेको केही मिनेटमै फुरुंग हुँदै पाउलोले हेलो भनिहाले । दुइ महिनापछि पाउलो १८६ किमी दूरी यात्रा गर्दै लोन्ड्रिनास्थित होसिनोको घर पुगे ।

४ दिनसम्मको छलफल पछि त उनीहरु डेटिंगमै मस्त हुन थाले । त्यसको ४ वर्षपछि उनीहरु सँगै बस्न थाले ।


पाउलो आफ्नो पहिलो प्रेमी भएको र ऊसँग भएका कुराहरु आफ्नो लागि पहिलो अनुभवको रुपमा रहेका होसिनो बताउँछिन् ।

अहिले होसिनोले आफ्नै ब्युटी पार्लर खोलेकी छिन् भने पाउलो कानूनी सहायकको रुपमा काम गर्छन् । पाउलोको आफ्नो सहर इटापेभाको मेयर बन्ने लक्ष्य छ ।