माघ ३,भारतविरुद्धको टेस्ट क्रिकेट शृंखला दक्षिण अफ्रिकाले जितेको छ ।तीन खेलको शृंखलामा लगातार दुई खेल जितेर दक्षिण अफ्रिकाले एक खेलअघि नै शृंखलामा कब्जा जमाएको हो ।सेन्चुरियनमा भएको दोस्रो खेलमा घरेलु टोली दक्षिण अफ्रिका १३५ रनले विजयी भयो ।२८७ रनको चुनौती पछ्याएको भारत बुधबार १५१ रनमै अलआउट भएपछि भारतले लज्जास्पद हार व्यहोरेको हो ।

 

 

५० ओभर २ बलमात्र क्रिजमा टिक्न सकेको भारतका लागि रोहित शर्माले सर्वाधिक ४७ रन जोडे ।२१ वर्षीय ‘डेब्यु’ खेलाडी लुंगी गिदीले ३९ रन खर्चेर ६ विकेट लिएपछि भारतको ब्याटिङ लाइन ध्वस्त भएको थियो । ‘म्यान अफ द म्याच’ घोषित गिदीले पहिलो इनिङसमा एक विकेट लिएका थिए ।

 

खेलमा दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ३३५ तथा दोस्रो इनिङ्समा २५८ रन बनाएको थियो ।भारतले पहिलो इनिङ्समा विराट कोहलीको १५३ रनको मद्दतमा ३०७ रन बनाएको थियो ।

 

 

यसअघि भएको पहिलो खेलमा भारत ७२ रनले पराजित भएको थियो ।घरेलु मैदानमा ‘ह्वाइटवास’नजिक पुगेको दक्षिण अफ्रिकाले शृंखलाको तेस्रो तथा अन्तिम टेस्ट खेल माघ १० गतेदेखि जोहानेसवर्गमा खेल्नेछ ।