भेनेजुएला सरकारविरुद्ध सशस्त्र समूहको नेतृत्व गर्ने हेलिकप्टर पाइलट तथा पूर्व प्रहरी अधिकारी ओस्कार पेरेज प्रहरीसँगको भीडन्तमा मारिएका छन् । मंगलबार भेनेजुएलाका अधिकारीहरुले पेरेज मारिएको पुष्टि गरेका हुन् ।
गत वर्ष राष्ट्रपति निकोलास मोडुरोविरुद्ध भएको सडक प्रदर्शनका दौरान ‘विद्रोही प्रहरी’ का रुपमा ३६ वर्षीय पेरेज चर्चामा आएका थिए । गत जुनमा उनीसहित एउटा सानो समूहले हेलिकप्टरमा राजधानी काराकासमा रहेको सर्वोच्च अदालतको भवनामा ग्रिनेड खसाल्नका साथै गृहमन्त्रालयमा आक्रमण गरेका थिए ।
त्यसपछि पेरेजले राष्ट्रपति मोडुरोविरुद्ध विद्रोह गर्न आह्वान गर्दै ब्यानर फैलाएका थिए । उनले सामाजिक सञ्जालमा विद्रोहको आह्वान गर्दै भिडियो समेत पोष्ट गरेका थिए ।
घटनामा कोही पनि हताहत वा घाइते नभए पनि यो सरकारको लागि निकै लज्जाको विषय बनेको थियो । सरकारले उनलाई पक्रेर कारवाही गर्ने प्रतिबद्धता जनाएको थियो ।त्यसयता उनी फरार थिए ।
सोमबार भने उनले घाइते अवस्थामा भिडियो सार्वजनिक गर्दै आफू बसेको घरमा प्रहरीले आक्रमण गरेको जानकारी दिएका थिए । उनले आफू आत्मसमर्पण गर्न तयार रहे पनि प्रहरीले आफ्नो हत्या गर्न चाहेका बताएका थिए । मंगलबार गृहमन्त्री नेस्टोर रेभेरोलले प्रहरी कारवाहीमा पेरेजसहित सात जना मारिएको पुष्टि गरे ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।