हेटौँडा,२ माघ,
सरकारले लामो समयदेखि निर्णय हुन् नसकेको प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम आज तोक्ने भएको छ । राजधानीको विवाद कायम रहेको अवस्थामा सरकारले आज निर्णय लिने भएको हो ।
प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने प्रमुख एजेन्डाका साथ आज अपराह्न मन्त्रिपरिषद बैठक बस्ने भएको छ । आज बस्ने मन्त्री परिषदको बैठकले उच्च अदालत रहेको स्थानमा राजधानी तोक्ने भएपछि मकवानपुरको हेटौँडा बाहिरिने भएको हो ।
आजको बैठकमा सरकारले प्रदेश प्रमुखसँगै प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी कार्यालय पनि तोक्ने तयारी गरेको छ । प्रदेशको अस्थायी राजधानी तोक्दा आन्दोलन चर्कन सक्ने भएकाले कार्यसञ्चालनका लागि अस्थायी कार्यालय मात्र तोक्ने तयारीमा सरकार रहेको छ । हाल उच्च अदालत रहेका ठाउलाई आधार मानी सोहि ठाउँमा अस्थायी कार्यालय खोल्ने लगभग तय भएको छ ।
हाल उच्च अदालत प्रदेश १ मा विराटनगर, प्रदेश नम्बर २ मा जनकपुर, प्रदेश ३ मा पाटन, प्रदेश ४ मा पोखरा, प्रदेश ५ मा दाङको तुलसीपुर, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७मा दिपायल रहेका छन् ।
यसअघि सरकारले सातवटै प्रदेशको कार्यसञ्चालन गर्न काठमाडौंमै अस्थायी कार्यालय तोक्ने गृहकार्य गरेको थियो । यस्तो तयारीप्रति राष्ट्रपति विद्यादेवी भण्डारीसहित राजनीतिक दलभित्रैबाट विरोध भएपछि सरकारले हरेक प्रदेशअन्तर्गत उच्च अदालत भएका ठाउँमा अस्थायी कार्यालय तोक्न लागेको हो ।
प्रधानमन्त्री देउवाले सात प्रदेश प्रमुखमध्ये चारवटामा सहमति जुटाइसकेका छन् । तीनवटा प्रदेश प्रमुखका लागि एमाले र माओवादी केन्द्रसँग छलफल गरेर अन्तिम टुंगो लगाउने तयारी उनको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।