माघ २,मुलुकको सबैभन्दा ठूलो कारागार जगन्नाथदेवल कारागारमा रहेका ज्येष्ठ कैदीबन्दीमध्ये सबैभन्दा धेरै जबर्जस्ती करणीको मुद्दाका छन् । जगन्नाथदेवलमा जेलजीवन बिताएका ६५ वर्ष नाघेका ४५ ज्येष्ठ कैदीबन्दीमध्ये १५ जना जबर्जस्ती करणीमा जेलजीवन बिताइरहेका हुन् ।

 

पैँतालिसमध्ये तीन महिला र ४२ पुरुष रहेका छन् । यस्तै कर्तव्य ज्यानमा ११, लागुऔषधमा छ, ठगीमा चार, खोटाचलनमा एक, वन मुद्दामा दुई, बालयौन दुराचारमा दुई जनाले जेलजीवन बिताएको जेलर गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

 

महिलामा सबैभन्दा धेरै ७८ वर्ष उमेरका सीतादेवी सिख्राकार र चिनियादेवी ताम्राकारले ठगी मुद्दामा जेलजीवन बिताइरहेकामा सीतादेवीको एक वर्ष र चिनियादेवीको दुई वर्ष कैद तोकिएको छ । यस्तै पुरुषमा महोत्तरी लोहपट्टीका ७७ वर्षीय चन्द्रेश्वर मण्डल रहेका छन् । उनी कर्तव्य ज्यानको मुद्दामा २०६९ साउनदेखि २० वर्षका लागि जेलजीवन बिताइरहेका छन् ।जेलजीवन बिताइरहेका सात विदेशी ज्येष्ठ नागरिकमध्ये ज्यान मार्ने उद्योगमा जेलजीवन बिताइरहेका फ्रान्सका ७३ वर्षीय चाल्र्स शोभराज सबैभन्दा वृद्ध हुन् ।

 

जबर्जस्ती करणीमा भारत उत्तर प्रदेशका ६५ वर्षीय राम सिंह, खोटाचलनमा पाकिस्तानका ६५ वर्षीय मोहमद अकबर, बाल यौन दुराचारमा साउदी अरबका ६६ वर्षीय बाबरी सेख मोहम्मद र नेदरल्याण्डका ७२ वर्षीय हेन्रीकस एड्रिनस, लागुऔषधमा पाकिस्तानका ६५ वर्षीय अट्टा मोहम्मद साह, भारतका ७० वर्षीय महेन्द्र ठाकुरले जेलजीवन भोगिरहेका छन् । नेपालको ७७ जिल्लामध्ये हाल ७२ जिल्लाका ७४ स्थानमा कारागार छ भने भक्तपुर, बारा, धनुषा र अहिले नयाँ बनेका नवलपुर, रुकुम पूर्वी भागमा कारागार छैन ।

 

कारागार व्यवस्था विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरे हाल देशभर १८ हजार ५०० को हाराहारीमा कैदीबन्दी रहेको बताउनुहुन्छ । “दिनदिनै कैदीबन्दी आउने र जाने भएकाले यति नै संख्यामा छन् भन्ने यकीन गर्न गाह्रो हुन्छ,” उहाँ भन्नुहुन्छ । विसं १९७१ मा स्थापना भएको मुलुककै सबैभन्दा पुरानो जगन्नाथदेवल कारागारमा हाल तीन वटा बन्दीगृह छ् ।

 

कूल दुई हजार ५६१ कैदीबन्दी रहेको यस केन्द्रीय बन्दीगृहमा एक हजार ५६७, भद्रगोल बन्दीगृहमा ६५७ र महिला बन्दीगृहमा ३३७ कैदीबन्दी छन् ।जेलजीवन भोगेका महिलाको बालबच्चालाई कारागारले १० नाबालकलाई संरक्षणमा राखेको छ । एकसय तीन वर्ष पुरानो यस कारागारमा कैदीबन्दी राख्ने भवन जीर्ण भएकाले व्यवस्थापनमा समस्या परेको जेलर भट्टराई बताउनुहुन्छ ।

 

कैदीबन्दीको सुरक्षाका लागि नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २०० भन्दा बढी सुरक्षाकर्मी खटाएको छ । उक्त कारागारको सुरक्षामा खटिनुभएका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्मा धेरै कैदीबन्दी र कारागारको कमजोर संरचनाका कारण सुरक्षामा समस्या पर्दै गएको बताउनुहुन्छ । उक्त कारागारबाट केही महिना अगाडि दुई कैदीबन्दी भागेका थिए ।रासस